|

काठमाडौँ : सरकारी सेवामा आबद्ध भएर काम गर्ने तर दिनभर अस्पतालमा नबस्ने चिकित्सकप्रति स्वास्थ्य मन्त्रालय कडा रूपमा प्रस्तुत भएको छ।

थापाथली प्रसूतिगृह, वीर अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरू त काठमाडौँमा रहेका ठूला निजी अस्पतालहरूका विभागीय प्रमुख भएर काम गरेको देखिन्छ।

अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यस मातहतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले बिदा लिएर निजी स्वास्थ्य संस्था तथा गैरसरकारी संस्थामा काम सामान्य थियो। अहिले भने मन्त्रालयले सरकारी कर्मचारीले यसरी बिदा लिएर बाहिर काम गर्न नमिल्ने भन्दै गरेको खण्डमा कारबाही भोग्नुपर्ने चेतावनी दिन थालेको छ।

स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको सचिवको जिम्मेवारीमा आएका मधुसूदन बुर्लाकोटीले पुनः सरकारी सेवाको माथिल्लो तहमा रहेका चिकित्सकहरू हाजिर गरेर निजी अस्पतालमा दिनभर जस्तै सेवा दिने चिकित्सकलाई त्यसो नगर्न र गरेको पाइए कडा कारबाही गर्ने बताएका छन्।

प्रशासनतर्फका सचिव बुर्लाकोटीद्वारा जारी सूचनामा भनिएको छ‚ ‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधीनमा हुने र बिदा अधिकारको कुरा होइन, सहुलियत मात्र हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ। कर्मचारीले नियमावलीअनुसार बिदा लिन पाउने भए पनि जुन उद्देश्यका लागि बिदा लिएको हो‚ सोही प्रयोजनमा उपयोग गर्नुपर्ने हुन्छ। केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले जुन उद्देश्यका लागि बिदा लिएको हो‚ सोहीअनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थाहरूमा, विदेशी स्वास्थ्य संस्था एवं गैरसरकारी संघ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही कार्य गर्नुहुन निर्देशन छ।’

प्रतिष्ठानहरू‚ विभागहरू, अस्पतालहरू र केन्द्रहरू सबैलाई सम्बोधन गरी जारी गरिएको निर्देशनात्मक सूचनामा मन्त्रालयअन्तर्गतका कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अध्ययन, असाधारण, घर बिदा, विरामी बिदा, भैपरी आउने र पर्व विदा जस्ता बिदा लिएर बाहिर काम गरेको गुनासो प्राप्त भएको उल्लेख गरेका छन्।

उनले स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधीनमा हुने र बिदा अधिकारको कुरा होइन सहुलियत मात्रै हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन्। पत्रमा जुन उद्देश्यका लागि बिदा लिइएको सोही प्रयोजनमा उपयोग गर्नुपर्ने हुन्छ भन्दै एउटा बिदा लिएर अर्को काम गरेको भेटिए बिदा रद्द गरी कारबाही हुने चेतावनी दिएका छन्।

सचिव बुर्लाकोटीले स्वदेशी तथा विदेशी निजी स्वास्थ्य संस्थाहरूले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेको देखिए मन्त्रालय तथा सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेका छन्।

सचिव बुर्लाकोटीले यसअघि पनि यस्तै प्रकारको निर्देशन मन्त्रालयले दुईपटक सम्म दिइसकेका छन्। कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले बिदा स्वीकृत गराई वा नगराई स्वदेशका निजी स्वास्थ्य संस्था विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत रहेको भन्ने गुनासो आएपछि मन्त्रालयले अबदेखि सरकारी सेवामा रहेका कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने र गरेको थाहा पाए कारबाही गरिने जनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.