|

सन् १९६३ जनवरी २७ मा भारतको गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु प्रमुख अतिथि थिए। 

नेहरु सार्वजनिक ठाउँमा कहिल्यै रुँदैनन् र कोही रोएको मन पनि पराउँदैनन् भन्ने गरिन्थ्यो।

तर, जब लता मङ्गेशकरले 'ए मेरे वतन के लोगों' बोलको देशभक्तिले ओतप्रोत गीत गाइन् नेहरुका पनि आँखा रसाए।

जसलाई लताको जीवनको मात्र नभएर भारतीय संगीत इतिहासकै महत्त्वपूर्ण घटना मानिन्छ।

सन् १९२९ सेप्टेम्बर २८ मा जन्मेकी विश्वचर्चित गायिका लता मङ्गेशकरको हिजो (आइतबार) बिहान ९२ वर्षको उमेरमा निधन भयो। 

सन् १९४२ देखि औपचारिक रुपमा गायन यात्रा शुरु गरेकी लताले झण्डै ७ दशक यसमा बिताइन्। यो अवधिमा उनले हिन्दी, उर्दू, नेपालीलगायत ३६ भाषाका हजारौँ गीत (३० हजारदेखि ५० हजार) गाइन्।

सर्वाधिक गीत गाउने कलाकारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनको नाम सन् १९७४ मा दर्ता भयो। 

उनले 'आकाशमा तिरमिरे तारा', 'जुन माटोमा मेरो' र 'बाँचुञ्जेलीलाई' जस्ता नेपाली गीतमा आफ्नो आवाज दिएकी छन्। 

पद्म भूषण, महाराष्ट्र भूषण, पद्म विभूषण, भारत रत्न, दादासाहेब फाल्केलगायत राष्ट्रिय सम्मान तथा दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित लतालाई सरस्वतीकै अवतारसमेत भन्ने गरिन्छ। संयोगवश उनको निधन पनि सरस्वती पूजाकै दिन भयो। 

भारतका प्रधानमन्त्रीसहित सबै क्षेत्रका महत्त्वपूर्ण व्यक्तिहरूकाे उपस्थितिमा उनकाे अन्तिम संस्कार आइतबार गरिएकाे छ।

भारत सरकारले सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउँदै २ दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।

१४ वर्षअघि भारतीय टेलिभिजन एनडिटिभिसँगको अन्तरवार्तामा उनले आफ्नो गायन यात्रा र सन् १९६३ मा नेहरुसामु गाउँदाको अनुभव सुनाएकी थिइन्।

प्रस्तुत छ सोही अन्तरवार्ताको अनुवादित अंश:

तपाईंको आवाजलाई प्रकृतिको जादु मान्न सकिन्छ। तर, सँगै अभ्यास र अनुशासनको कुरा पनि आउँछ। तपाईं आफ्नो आवाजलाई कति नेचुरल ट्यालेन्ट र कति अनुशासन अनि अभ्यासको प्रतिफल मान्नुहुन्छ?

नेचुरल ट्यालेन्ट जुन छ त्यो ७५ प्रतिशत छ र बाँकी जति छ त्यसमा मिहिनेत त गर्नुपर्छ, रियाज गर्नुपर्छ, खानपिनमा ध्यान राख्नुपर्छ। यद्यपि म राख्दिनँ। 

मलाई मान्छेहरू खुर्सानी खायो भने गला बिग्रिन्छ, अचार, दही खायो भने गला खराब हुन्छ भन्छन्। तर, म सबै खान्छु, केही बार्दिनँ। 

मेरो पिताजी भन्ने गर्नुहुन्थ्यो कि गाउनका लागि केही कुरा बार्नु पर्दैन। गायकका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाईंले गाइरहनु पर्छ। मतलब तपाईंको गला चालु रहनुपर्छ। अनि मैले त्यसै गरेँ, पूरै जिन्दगीभर। 

तपाईंको अवाजले हामीलाई नयाँ भारततिर लैजान्छ। सन् १९५० को दशकको भारत, के त्यो समय तपाईंका लागि पनि महत्त्वपूर्ण थियो?

त्यो समय साँच्चिकै राम्रो थियो, यसमा कुनै शंका छैन। ४०, ५०, ६० र ७० को दशक एकदमै राम्रो समय थियो। राम्रा राम्रा फिल्महरू बन्थे अनि काम गर्नेहरूमा एउटा आफ्नोपन थियो। एकदमै राम्रो लाग्थ्यो। आज सबै टाढा भएका छन्। 

अनि देशभक्तिको भावना भरिएका गीत पनि धेरै बन्थे। तपाईंका लागि त्यस्ता गीत स्पेशल हुन्थ्यो होला!

हजुर, मलाई एकदमै राम्रो लाग्थ्यो। म गाउँथेँ पनि। अनि अर्को एउटा कुरा बताउँ, त्यतिवेला देशमा कुनै पनि किसिमको संकट आयो भने हाम्रो फिल्म इन्डस्ट्री सँगै उभिन्थ्यो। सबै एकसाथ शो गर्थे, पैसा जम्मा गरेर मानिसहरूलाई बाँड्थे, सैनिकलाई भेट्न जान्थे, अरु मानिसहरूलाई भेट्न जान्थे। त्यो अहिले छैन। 

पण्डित नेहरुसामु 'ए मेरे वतन के लोगों' गाउँदा तपाईंलाई कस्तो लाग्यो? उहाँको त आँखा रसायो। तपाईंलाई कस्तो लाग्यो त्यो गाउँदै गर्दा। 

मलाई त्यो गीत गाउँदा एकदमै राम्रो लाग्यो। यद्यपि त्यसको एकदिन अगाडि म बिरामी थिएँ। म त्यतिकै दिल्ली गएँ। २७ मा हाम्रो शो थियो। त्यो शोमा गाउँदै गर्दा मैले आफैँलाई बिर्सिएँ। मेरो आँखामा बोर्डरमा के भइरहेको होला भन्ने दृश्य मात्र आइरहेको थियो। 

गीत गाएर भित्र कुर्सीमा गएर बसेकी थिएँ। डिरेक्टर/प्रोड्युसर मेहबुब खान लता कहाँ छ? लतालाई बोलाउ भन्दै आउनुभयो। मैले मेहबुब साहब म यता छु भनेँ।

यता आऊ। पण्डितजी तिमीलाई बोलाउँदै हुनुहुन्छ, उहाँले भन्नुभयो। मेरो हात समातेर छिटो छिटो त्यहाँ लैजानुभयो। पण्डितजी उभिइरहनु भएको थियो। 

पण्डितजीले मलाई भन्नुभयो, बेटा, तिमीले मलाई आज रुवायौ। घर कहिले आउँदै छौ? साँझ आउँछौ नि? मलाई आफ्नो घरमा चिया खान निम्त्याउँदै हुनुहुन्थ्यो। 

त्यो अर्कै वातावरण थियो। 

तपाईं प्लेब्याक सिंगिङतिर कसरी पुग्नुभयो? अनि अनुभव कस्तो थियो?

म ९ वर्षकी थिएँ जब मैले पहिलो पटक पिताजीसँग गीत रेकर्डिङ गराएँ। प्लेब्याकको पिरियड म १६/१७ वर्षको हुँदा शुरु भयो। तर, त्यसभन्दा अगाडि म एक्टिङ गर्थेँ, फिल्ममा। 

दोस्रो कुनै उपाए थिएन। मराठी फिल्ममा हिरोइनकी बहिनी, हिरोकी बहिनीजस्ता साना साना रोलको प्रस्ताव आउँथ्यो। मलाई राम्रो लाग्दैनथ्यो तर काम गर्न आवश्यक थियो। त्यति वेला गर्न जरुरी थियो। किनकी त्यति वेला हाम्रो घरमा हामी ४ बहिनी, एउटा भाइ, आमा, मौसीकी छोरी पनि थिइ। अनि जिम्मेवारी ममाथि थियो। 

मास्टर विनायक जसको कम्पनीमा हामी काम गर्थ्यौं धेरै राम्रा डिरेक्टर र एक्टर पनि थिए। उनको कम्पनी थियो प्रफूल पिक्चर्स त्यहाँ हामी काम गर्थ्यौं। 

म चाहन्थेँ कि प्लेब्याक गरुँ, मलाई एक्टिङ गर्न मन पर्दैनथ्यो। हरिशचन्द्र बाली नामका एकजना म्युजिक डाइरेक्टर हुनुहुन्थ्यो, उहाँले मेरो गीत सुन्नुभयो अनि त्यहीँबाट मेरो प्लेब्याक सिंगिङ शुरु भयो।

त्यति वेला तपाईं भर्खरकी युवती हुनुहुन्थ्यो। यो उद्योगमा काम गर्न सहज असहज कस्तो थियो?

मलाई केही पनि थाहै थिएन। मैले भनेको सुनेर तपाईं हाँस्नु होला पनि। म जब गीत रेकर्डिङका लागि जान्थेँ, गएर एउटा कुनामा बस्थेँ। दिनैभरि पनि बस्थेँ भोकै पानी पनि नखाइ। काम गर्थेँ अनि फर्कन्थेँ। यहाँ क्यान्टिन छ, यहाँ चिया, खाना पाइन्छ भन्ने कुरासमेत मलाई थाहा थिएन।  

पछि एकदिन डाइरेक्टरको एसिस्टेन्टले लता तिमी खाना खाने भनेर सोध्यो। मैले यहाँ कसरी खानु, अब घरै गएर खाने भनेँ। पछि उसैले लगेर खाना खुवायो। त्यहाँ क्यान्टिन पनि रहेछ भन्ने त्यति वेला मात्र थाहा पाएँ। 

स्ट्रगल नै सम्झनुस्, ट्रेनमा जानुपर्थ्यो, कहिले पैदल, कहिलेकाहीँ टाँगा पाइन्थ्यो। यो स्ट्रगल त थियो तर काम गर्ने इच्छा यति प्रबल थियो कि कुनै असहज अनुभव हुँदैनथ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.