|

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिवद्धता जनाएका छन्।

मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा बोल्दै श्रेष्ठले वैदेशिक रोजगारी सुधार्ने अभियानबाट पछि नहट्ने बताएका हुन्।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको बताए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि शोषण गर्नेहरूलाई सरकारले हदैसम्मको कारबाही हुन्छ।’

नेपाल र युएईबीच हुने संयुक्त कार्य समिति बैठकमा नेपालले न्युनतम पारिश्रमिक वृद्धि, सीप विकासमा लगानी, पुन एकीकरण  तथा पुनर्स्थापना कार्यक्रम संचालन जस्ता बिषयलाई प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ छ। 

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका कमि कमजोरी सुधार्न मन्त्रालयको नेतृत्व गम्भीर भएर लागेको बताए। नेपालले सातवटै प्रदेशमा संचालन गर्ने सीप विकास तालिम केन्द्रमा लगानी, श्रमिकको स्वास्थ्य वीमा, सामाजिक सुरक्षा योजनामा सहभागिता, न्युनतम पारिश्रमिक वृद्धि लगायत एजेण्डा नेपालले प्रस्तुत गर्ने अर्यालले बताए।

युएईमा रहेका नेपाली श्रमिकको न्युनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्य वातावरण तथा न्याय र सूचनामा सहज पहुँच सुनिश्चित गर्ने बिषयलाई नेपालले प्राथमिकता दिनुपर्ने सहभागीले बताए। 

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमितिको बैठक युएईमा हुँदैछ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गएर अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई जाँदैछ। सोही क्रममा नेपाल–युएई संयुक्त कार्यसमितिको बैठक पनि आयोजना हुनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.