|

निरञ्जनकुमार साह

जनकपुरधाम : आफूले अदालतबाट पनि न्याय पाउन नसकेको भन्दै निहारिका राजपुतले गुनासो पोखेकी  छिन्।

जिल्ला अदालत धनुषाले आरोपी शिवराज श्रेष्ठलाई सफाइ दिएपछि अविवाहित आमा निहारिकाले फेसबुक लाइभमा आएर वेदना पोखेकी हुन्। 

अदालतको इजलास ५ का न्यायाधीश परशुराम भट्टराईले मुद्दामा अभियोग दावी नपुगेको ठहरसहित आरोपी श्रेष्ठलाई सफाइ दिएका छन्।

अदालतका सूचना अधिकारी गंगाप्रसाद मिश्रले आरोपीले कसरी सफाइ पाए भन्ने कुरा फैसलाको पूर्ण पाठ आएपछि मात्र भन्न सकिने जानकारी गराए। 

महोत्तरीको जलेश्वर घर भएकी निहारिकाले  रुँदै भनिन्, ‘मेरो बच्चाले न्याय पाएन। मैले अदालतमाथि कसरी विश्वास गर्ने? मैले यदि आत्महत्या गरेँ भने यसको जिम्मेवार जिल्ला प्रहरी कार्यालय धनुषा र अदालतका न्यायाधीश हुनेछन्।’

निहारिकाले अदालतका न्यायाधीशमाथि आर्थिक चलखेल  गरेको  आरोप लगाइन्।

‘अन्तिम पेशी भनेर म अदालत आउन खोजेकी थिएँ तर सरकारी वकिलले मलाई रोके’‚ निहारिकाले भनिन्, ‘पेशी सारिदिने भनेकी थिएँ तर सारेनन्। सरकारी वकिल र न्यायाधीश सबैले पैसा खाएर अपराधीलाई सफाइ दिए।’

निहारिका ३ वर्षीय छोरा लिएर हाल काठमाडौंमा बस्छिन् र उनी न्याय पाउने आशा बोकेर कैयौंपटक जिल्ला अदालत धाएकी थिइन्। अदालतबाट आएको निर्णयले उनी विक्षिप्त बनेकी छन्।

उनलाई छोरा कसरी पाल्ने र आफू कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताएको छ।

निहारिकाको दाबीअनुसार करिब ३ वर्षअघि श्रेष्ठले उनलाई प्रेमजालमा पारेर शारीरिक सम्बन्ध राखेका थिए।

त्यसपछि उनी नाबालिग उमेरमै उनको गर्भ बसेको थियो। आफूमा गर्भ रहेको बताएपछि श्रेष्ठले विवाह गर्न नमानेको निहारिकाको भनाइ छ। आफूलाई आर्थिक प्रलोभन देखाएर गर्भको बच्चा फाल्न दबाव दिएको समेत बताइन्।

निहारिकाले बच्चा जन्माइन्। अहिले  छोरा ३ वर्षको भइसकेका छन्।उनी आफूलाई अविवाहित आमाको रूपमा चिनाउने गर्छिन्। आफ्नो वास्तविक नाम र तस्वीर सार्वजनिक गर्न उनले मिडियालाई अनुमति समेत दिएकी  छिन्।

आरोपी श्रेष्ठले भने निहारिकाबाट जन्मेको बच्चा आफ्नो नभएको बताए। अदालतमा मुद्दा परेपछि उनी करिब १८ महिनासम्म फरार भए।

त्यसपछि प्रहरीमार्फत हाजिर भएका उनी थुनामा रहेका थिए। अदालतको फैसलापछि उनले उन्मुक्ति पाएका हुन्।

अविवाहित आमा बनेरै बाँच्ने तर अपराधीलाई कानुनी कठघरामा उभ्याएर छाड्ने भनेर अदालत पुगेको अवस्थामा अदालतको फैसलाले आफू निराश बनाएको बताइन्।

त्यस्तै अधिकारकर्मी एवम् पत्रकार गुन्जा रायले भनिन्, 'जिल्ला अदालत धनुषाको फैसलाबाट न्याय नपाएर हारे पनि निहारिकाको हौसला हारेको छैन। निहारिका जस्तो साहसी महिला हरेस खाँदैनन्।'

यो किसिमको फैसला आउनुमा न्यायालय मात्र नभई न्यायका लागि खडा भएका सम्पूर्ण निकाय त्यतिकै जिम्मेवार भएको रायले बताइन्।  

पीडित र असहायको न्यायका लागि खडा भएका संयन्त्रले पीडितभन्दा पनि पीडक, शक्तिशाली र पहुँचवालाका लागि गरिरहेको बताउँदै यस्ता कामविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.