|

काठमाडौं :  ऐतिहासिक कमलपोखरी पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। कमलपोखरीको पुनःनिर्माण करिब–करिब सकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। 

कमलपोखरी सौन्दर्यीकरण योजनाअनुरुप ९ वटा चैत्यको आज (बुधबार) विधिवत प्रतिस्थापन गर्दै  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण सकिन लागेको बताएका हुन्। काठमाडौं महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरी व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको महानगरको भनाइ छ। 

प्रमुख शाक्यले भने, ‘ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्योलगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ।’ पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको आनन्द लिँदै घुमफिर गर्ने उपयुक्त ठाउँमा यो पोखरी विकास हुने शाक्यले बताए।

चैत्यसँगै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरी वृक्षरोपण गर्ने तयारी छ। उनले भने, ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउने पर्यटकलाई समेत आकर्षित गराउने उद्देश्यका साथ पोखरी पुनःनिर्माण अघि बढाएका छौँ।’ 

एकातिर पानी अर्कोतिर हरियालीको सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनःनिर्माण अघि बढाएको उनको भनाइ छ। ‘पहिला बेवारिसे र फोहोर जमेको पोखरीको परम्परागत, सांस्कृतिक र पर्यटकीय विकास गर्ने अभियान अघि बढाएका हौं,' शाक्यले बताए।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफूलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको बताइन्। उनले भनिन्,‘यो ऐतिहासिक कमलपोखरी हो,’ उनले भनिन्, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ। मेरो घर कमलपोखरीबाट नजिकै छ। बिहान–बेलुका स्वच्छ हावा लिँदै हरियालीको आनन्द लिनका लागि यो उपयुक्त ठाउँ हुने भयो।’

सो पोखरीले २३ रोपनी ओगटेको छ। करिब ६ करोड ३६ लाख रूपैयाँ लगानीमा उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर पुनःनिर्माण भइरहेको  महानगरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.