पहिले आफूले निर्णय गर्नूस्;  एमाले त निर्णय गरिहाल्छ : ओली

|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे निर्णय गर्न आग्रह गरेका छन्।

बिहीवार बेलुका ओलीलाई टेलिफोन गरी एमसिसी पास गर्न सहयोग गर्न प्रचण्डले अनुरोध गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले थाहाखबरलाई बताए। तर‚ उक्त प्रस्तावलाई ओलीले अस्वीकार गरेको रिजालको भनाइ छ।

‘एमसिसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै प्रचण्डले फोन गरेको तर ओलीले त्यसलाई अस्वीकार गरेको रिजालले बताए। यसपछि पुनः चुनावपछि भए पनि पास गर्न अनुरोध गरेको‚ त्यसलाई पनि ओलीले अस्वीकार गरेको उनको भनाइ छ।

‘चुनावपछि पास गर्न अनुरोध गरेका थिए। हाम्रो अध्यक्षले अस्वीकार गर्नुभयो‚’ प्रचार विभाग उपप्रमुख रिजालले भने‚ ‘अहिले गर्नु र चुनावपछि गर्नु पास गर्नु एउटै भएको भन्दै अध्यक्ष ओलीले अस्वीकार गर्नुभयो।’

अध्यक्ष ओलीले सत्ता गठबन्धनले पहिले निर्णय गर्नुपर्ने र त्यसपछि एमालेले त्यसबारे निर्णय गर्ने माओवादी अध्यक्ष प्रचण्डलाई दिएको रिजालले बताए।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ‚’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले भने‚ ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नूस्;  नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.