|

काठमाडौं : बालश्रमको अन्त्य गर्न सरकार र नागरिकको उत्तिकै दायित्व हुने सरोकारवालाहरूले बताएका छन्। स्वतन्त्र अभियान नेपालले बिहीवार र शुक्रवार आयोजना गरेको ‘राष्ट्रिय संगोष्ठी’ कार्यक्रममा सहभागीहरूले बालश्रम अन्त्यका लागि सरकार र नागरिकको बराबर दायित्व हुने बताएका हुन्।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गुरूदत्त सुवेदीले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज परिवारले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए। बालबालिकाले पाउनुपर्ने उचित वातावरणका लागि हरेक नागरिक जिम्मेवार भएर बालश्रमको अन्त्य गर्न लागिपरे दिगो विकास लक्ष्यले निर्धारण गरेको समय सीमाभन्दा अगाडि नै बालश्रमको अन्त्य हुने बताए।

स्वतन्त्रता नेपाल अभियानका कार्यकारी सचिव रीतु भट्टराईले केन्द्रीय तथ्यांक विभागको  सन् २०२० को तथ्यांक अनुसार अझै पनि ११ लाख बालबालिका विभिन्न क्षेत्रमा बालश्रम गरिरहेका तथ्यांक पेश गर्दै सरकारको लक्ष्य र दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा बालश्रमको अन्त्य गर्ने लक्ष्य पूरा गर्न सरकार र नागरिक समाजको साझेदारीमा जोड दिइन्।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सरकारको प्रयासले नेपालमा बालश्रमिक घट्दै गएको दाबी गरे। उनले भने‚ ‘विगतमा नेपालमा २६ लाख बालबालिका बालश्रममा थिए, सोह्रलाख हुँदै अहिले ११ लाखमा झर्नुमा सरकारले ल्याएका राम्रा नीति र बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालगायत सचेत नेपालीको महत्वपूणर् योगदानको नतिजा हो।’

विश्व शिक्षाका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले कोरोना महामारीका कारण पनि अभिभावक गुमाएका, घरको आर्थिक अवस्था कमजोर हुँदा बालबालिका श्रममा धकेलिने अवस्थामाथि ध्यान दिनुपर्ने बताइन्। कार्यक्रममा सहभागीहरूले इँटाभट्टा, गलैंचा कारखाना र मनोरञ्जनको क्षेत्रमा बालश्रम जारी रहेको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.