८४ प्रतिशत विद्यार्थीले खोप लगाएको सरकारको दाबी

|
फाइल तस्बिर

काठमाडौं : सरकारले कोभिड–१९का कारण बन्द गरेको करिब एक महिनापछि विद्यालय खोल्न अनुमति दिएको छ। सबै स्कुलले फागुन १ देखि विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गर्न पाउने छन्। त्यहीअनुसार देशभरका अधिकांश स्कुलले सबै कक्षाका विद्यार्थीलाई स्कुलमै बोलाएका छन्।

तर, विद्यालयले पहिलाजस्तो गरी कक्षा सञ्चालन गर्न भने पाउने छैनन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले माघ २३ गते जारी गरेको आदेशमा नियमित कक्षा सञ्चालन नगर्नू भनेको छ।

‘विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्यासमेत विचार गरी स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन व्यवस्था गर्ने,’ आदेशपत्रमा भनिएको छ।

कोरोना संक्रमण तीव्र गतिमा बढेकै कारण सरकारले पुस २७ गतेदेखि माघ मसान्तसम्म शैक्षिक संस्था बन्द गरेको थियो। तर,पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि गत आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठकले फागुन १ बाट आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न सरकारलाई सिफारिश गरेको थियो। 

‘विद्यालयले एकै चरणमा पढाउन पाउँदैनन्’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले १२ वर्षमाथिका उमेर समूहको हकमा मात्र नियमित कक्षा सञ्चालन गर्न पाइने बताए।

‘कोरोना जोखिम अझै कायमै छ, त्यसैले १२ वर्ष माथिलाई नियमित पढाउन मिल्छ, १२ वर्ष मुनिकालाई आलोपालो प्रणालीबाट मात्रै विद्यालयले पढाउन पाउँछन्, त्यसैले विद्यालयले सबै विद्यार्थीलाई नबोलाऔँ,’ उनले भने। उनले यो आदेशलाई सहज रुपमा व्यवस्थापन र कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह पनि गरे।

यसकारण १२ वर्ष माथिकालाई मात्र नियमित कक्षा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले १२ वर्ष माथिका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएकाले नियमित कक्षा सञ्चालन गर्न भनेको बताए।

उनले भने, ‘१२ वर्ष मुनिकालाई खोप दिइएको छैन, त्यसैले संक्रमणको जोखिम हुने भयो, त्यसैले आलोपालो गरी पढाउनु भनेका हौँ।’ उनका अनुसार देशभरकै विद्यालयले १२ वर्ष मुनिका विद्यार्थीलाई एक दिन एउटा कक्षा बोलाएर सामाजिक दूरी कायम गरी पढाउनुपर्ने छ।

‘फेरि अर्को दिन अर्को कक्षाका विद्यार्थीलाई बोलाएर पढाउन सकिने छ, यसो गर्दा भीडभाड पनि हुँदैन, अरु थप आलोपालो प्रणाली स्थानीय सरकारले व्यवस्था गर्नसक्ने छन्,’ उनले भने।

अर्को सूचना प्रकाशित नगरुन्जेल यसैगरी देशभरिकै विद्यालय सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। मन्त्रालयका अनुसार २८ हजार ८ सय ३३ सरकारी र ६ हजार ६ सय ८७ निजी गरी हाल देशभर ३५ हजार ५ सय २० विद्यालय छन्।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईलाई १२ वर्ष पूरा नभएका विद्यार्थी हकमा आलोपालो गरि कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

 कति बालबालिकाले लगाए खोप?

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार १२ वर्षदेखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख किशोरलाई खोप दिने सरकारको लक्ष्य छ। जसमा ८४ प्रतिशतले पहिलाे र ३४ प्रतिशत किशोरले दोस्रो मात्रा खोप लगाएको उनले जानकारी दिए।

१२ वर्ष माथिकाकाे हकमा लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको उनको दाबी छ। ५ वर्षमाथिका बालबालिकाका लागि खोपको उपलब्धता सुनिश्चित भएको र १२ वर्षदेखि माथिका सबै नेपालीलाई आगामी वैशाख मसान्तसम्म खोप लगाइसक्ने पनि बताए।

सक्रिय भएर पढाउन शिक्षकलाई निर्देशन

चालू शैक्षिक सत्र चैत मसान्तसम्म सकेर नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने सरकारको योजना छ। तर, यो समयसम्ममा शिक्षकहरूले सबै कोर्स नसकिने भएकाले जेठबाट थाल्न सरकारलाई सुझाव दिएका छन्।

शिक्षामन्त्री देवेन्द्र पौडेलले भने एसइईलगायत सबै तहको समयमै पठनपाठन सक्न शिक्षकहरूसँग आग्रह गरेका छन्। समयमै पठनपाठन पूरा गर्न र सक्रियतापूर्वक अभिभावक र विद्यार्थीले पनि आ–आफ्ना जिम्मेवारी वहन गर्नुपर्ने उनकाे आग्रह छ।

(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.