|
फाइल तस्बिर

काठमाडौं : सरकारले २०७८ को चालू शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म कायम गरी ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने योजना बनाएको छ।

तर,अहिले देशभरिकै विद्यालय कोरोनाका कारण बन्द छन्। यसको असरले अझै पाठ्यक्रम सकिएको छैन। 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार हालसम्म देशभर करिब ७५ प्रतिशतमात्र कोर्स सकिएको छ।

अझै करिब २५ प्रतिशत कोर्स सक्न बाँकी छ। तर, नयाँ शैक्षिक सत्र आउन अब २ महिनामात्र बाँकी छ।

कोरोनाकै कारण बन्द भएका सबै विद्यालयमा छठपछि भौतिक उपस्थितिमा पठनपाठन थालिएको थियो।

तर, नेपालमा कोरोना संक्रमणदर फेरि बढेपछि सरकारले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

​जोखिम कायमै भएपछि फेरि बन्दको समय लम्बिएकाे छ।

गृह मन्त्रालयले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्नु भनेको छ।

पढाइ वैकल्पिक माध्यमबाट सञ्चालन गर्न भने पनि अधिकांश विद्यालयमा पढाइ भएको छैन। यसबाट समयमा कोर्स सकिनेमा आशंका छ।

यस्तो छ मन्त्रालयको शैक्षिक सत्र व्यवस्थापन गर्ने योजना

मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठ अहिले तत्कालै शैक्षिक सत्रबारे केही निर्णय नगरेको बताउँछन्।

उनले भने, ‘माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ, अझै फागुन र चैत महिना बाँकी छ, यो महिना कोरोना संक्रमण नबढे विद्यालय पनि खुल्छन्, यस अवधिसम्ममा कोर्स सकिएला।’

उनका अनुसार चैतसम्म सबै कोर्स नसकिए शैक्षिक सत्र लम्बिन सक्नेछ।

‘अहिले विद्यालय बन्द भएपनि केही निजी र सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन गराइरहेका छन्, त्यसैले समयमा कोर्स सकिएला भन्ने आश लिएका छौँ,’ उनले भने। 

कोभिड–१९ ले २०७६ सालबाटै विद्यार्थीको पढाइमा त असर गर्‍याे नै सँगसँगै शैक्षिक क्षेत्र र सत्रमा समेत असर गरेको छ।

सरकारले ०७७ सालको शैक्षिक सत्र लम्ब्यायो। वैशाखमा सुरु भई चैत मसान्तमा सकिनुपर्ने सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएकाे थियो।

०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्र बनाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.