म्याग्दी : पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक संजालमा बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारीको थामिनसक्नु भिड भाइरल भयो।
म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बीर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्यो।
तोरीबारीमा घुम्न गएका धेरैजसो युवतीहरू फाँटमा पहेँलपुर तोरीबारीमा मखमली चोलो र पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना, बाला, कानमा माडवारी, तिलहरी, औंठी, चुरा जस्ता जनजातिको संस्कृति र भेषभूषा झल्किने पोशाकमा समेत सजिए।
रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैद मात्रै गरेनन् रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब ६० हजार आम्दानी गरेको छ।
सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमलाई लक्षित गरी ३० हजारमा १० सेट खरिद गरेको सहकारीका सचिव सुलोचना केसीले बताइन्। ‘तोरीबारीले मगर समुदायको भेषभूषाको पनि प्रचारप्रसार भयो,शुल्कलाई जातीय पोशाक प्रर्वधनमै खर्च गछौं’ केसीले भनिन्।
रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयलाई रु १ सय र बाहिरबाट आउनेलाई रु २ सय रुपैयाँ लिने गरेको छ।
केहीले आफूसँगै भएको भेषभूषासमेत लिएर गएका थिए। सहकारीकी अध्यक्ष सुनिता बोगटीले आगामी वर्ष क्षेत्रीसहित अन्य जातजातिको भेषभूषासमेत सहकारीमार्फत उपलब्ध गराउने योजना रहेको बताइन्। ‘घुम्न आउनेहरुबाट रत्नेचौरको प्रचारप्रसार भएको छ,हामी निकै उत्साहित छौ’ बोगटीले भनिन्।
कोभिड–१९ को महामारीका कारण तोरीबारीमा धेरै भिडभाड बढेको हुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको थियो।
हिजोआज फाट्टफुट्ट घुम्न जानेहरूले समेत पोशाका प्रयोग गर्ने गरेका छन्। म्याग्दी मगर समुदायको सांस्कृतिक रूपमा निकै धनी छ। यहाँ धर्म, संस्कृति र चाडपर्वहरू बाहेक सार्वजनिक कार्यक्रमहरुमा समेत मगर भेषभुषाको प्रयोग गर्ने गरिन्छ। मगर समुदाय गीत र नृत्यमा सोरठी, घाटु नाच, झयाउरे, मारुनी नाचको छुट्टै महत्व रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।