|

चितवन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले ल्याएको प्रस्ताव संसदमा सभामुखले रोक्न नमिल्ने बताएका छन्। 

चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सरकारले प्रस्तावमा ल्याएपछि सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन। एमसिसीबारे संसदमा छलफल भए निकास निस्कन्छ।’

सरकारले ल्याएका प्रस्ताव संसदमा टेबल गराउनु सभामुखको दायित्व भएको उनको भनाइ छ। उनले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताए। अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने सक्ने बताए। 

उनले भने, ‘देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ।’

एमसिसीका विषयमा अन्योल खडा नगरी संसदबाट पास गर्नुपर्ने मत राखे। ‘एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको  छ। नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो’ उनले भने। उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने स्पष्ट पारे। 

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ। अहिले त्यसबारेमा छलफल गर्ने बेला भएको छैन।’ दलहरूले आ-आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उनले बताए। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.