|

भारतकी चर्चित लेखिका अरुन्धती रायले भारतमा बढेको हिन्दू राष्ट्रवादी सोच विभाजनकारी भएको टिप्पणी गरेकी छन्। यो विभाजनकारी सोचलाई जनताले असफल पार्ने विश्वास व्यक्त गरेकी छन्।

'द वायर'सँगको अन्तरवार्तामा रायले भाजपालाई 'फासीवादी'को संज्ञा दिँदै एकदिन देशले फासिवादी चरित्रको विरोध गर्ने आशा रहेको बताइन्। 'मलाई भारतीय जनताप्रति पूर्ण विश्वास छ। जनताका कारण नै देश अँध्यारो खाडलबाट बाहिर निस्कनेछ', उनले भनिन्।

रायले उद्योगपतिहरूका प्रिय नेता प्रधानमन्त्री नरेन्द्र मोदी नै भएको आरोप लगाइन्। उनले भारतीय अर्बपति गौतम अडानी र मुकेश अम्बानी दुवैजना मोदीका प्रिय पात्र रहेको बताइन्। मोदीकै कारण  भारतमा २ जनाले सम्पत्ति थुपारिरहँदा बाँकी भारतीय भने गहिरिँदै गएको गरिबीको खाडलमा जाकिएको टिप्पणीसमेत गरिन्।

 

'अडानीको साम्राज्य ८८ अर्ब अमेरिकी डलर र अम्बानीको साम्राज्य सम्भवतः ८७ अर्ब अमेरिकी डलर रहेको छ। अडानीको सम्पत्तिमा गत वर्ष मात्र ५१ अर्ब डलर थपिएको थियो, जतिवेला भारतका जनता गरिबी, भोकमरी र बेरोजगारीको चपेटामा परेका थिए', उनले भनिन्, 'मोदीको आगमनपछि मुलुकमा विसंगति बढेको छ। मुलुकमा सय जनाले भारतको जिडिपीको २५ प्रतिशत भाग ओगटेका छन्।'

रायले उत्तर प्रदेशका एक किसानले गरेको टिप्पणीको सम्झना गर्दै भनिन्, 'देश ४ जनाले चलाएका छन्। २ जनाले देश बेचेका छन्, २ जनाले किनेका छन्। चारैजना गुजरातका हुन्।'

अम्बानी र अडानीले बन्दरगाह, खानी, मिडिया, इन्टरनेट, पेट्रोकेमिकललगायत थुप्रै कुरामा एकाधिकार रहेको उनले बताइन्। 'राहुल गान्धी धनी र गरीब भारतको कुरा गर्छन्। ओवैसी घृणा र प्रेमको कुरा गर्छन्। तर यिनीहरू पनि लामो समयदेखि कर्पोरेट हाउससँग उभिँदै आएका छन्', उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.