|
तस्वीर सौजन्य : एन्फा

काठमाडौं : राजधानीमा भइरहेको शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ र संकटाले गोलरहित बराबरी खेलेका छन्। पहिलो खेल पनि बराबरीमा सकिएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपिएफले संकटासँग गोलरहित बराबरी खेलेको हो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोली जितको अपेक्षासहित मैदानमा उत्रिएका थिए। तर पाएका केही राम्रा अवसरलाई दुवै टोलीले सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए।

एपिएफभन्दा लिगको अंक तालिकामा माथि रहेको संकटाले शुरुआतबाटै आक्रामक खेल देखाउँदै ३ अंकका लागि प्रयास गरेको थियो। तर एपिएफका विदेशी गोलकिपर युया कुरियामाले उत्कृष्ट खेल देखाएपछि संकटाको प्रयास धेरै पटक विफल भएको थियो। सोही क्रममा ११ औं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार कुरियामाले उत्कृष्ट बचाउ गर्दै शुरुआती संकट टारेका थिए।

३५ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको कर्नरमा अर्मान्ड बिडोमको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिँदा एपिएफले अग्रताको अवसर खेर फाल्न पुगेको थियो। त्यसपछिको पहिलो हाफको समयमा पनि उसका गोलका प्रयास विफल हुँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७४ औं मिनेटमा एपिएफका आवाश लामिछानेले पेनाल्टी क्षेत्रभित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले आकर्षक शैलीमा बचाए।

खेल सकिन १० मिनेट बाँकी रहँदा संकटाका फोफानाले गोलको सुनौलो अवसर गुमाए। लक्ष्मण रुचालको कर्नरमा अनमार्क रहेका उनको प्रहार सोझै गोलकिपरको हातमा पुगेको थियो। ८५ औं मिनेटमा एपिएफका नविन लामाको फ्रि–किक संकटाका गोलकिपरले सहजै नियन्त्रणमा लिए र बाँकी समयमा कुनै गोल हुन नसकेपछि खेल बराबरीमा सकियो। बराबरीसँगै एपिएफले १० खेलबाट ११ अंक जोडेको छ। एपिएफ नवौं स्थानमा रहेको छ। यस्तै संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

पहिलो खेलमा पनि शेर्पा र एनआरटीको बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबारकै अर्को खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी)ले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। अंक तालिकाको बीचतिर रहेका दुवै टोलीले अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। पहिलो हाफमा हिमालयन शेर्पाले दबाब दिएर खेले पनि दोस्रो हाफमा भने रक्षात्मक खेल पस्किएको थियो।

अघिल्ला खेलमा औसत प्रदर्शन गरेको एनआरटीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो। पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको हिमालयन शेर्पाले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने चुकेको थियो। सोही कारण दुवै टोली १/१ अंक बाँड्दै यस सिजनमा लिगमा दुवैबीचको खेल टुङ्ग्याए।

बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ। एनआरटी लिगको सातौं स्थानमा छ भने हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा छ। खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए। 

यससँगै शहीद स्मारक ए डिभिजन लिगमा १०औं चरणका खेल पनि सकिएका छन्। साविक विजेता मच्छिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा यथावत छ। अब लिगमा मंगलबारबाट ११औं चरणका खेल आरम्भ हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.