|

इटहरी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन्। इटहरी उपमहानगरपालिकाको परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवनको उत्तरमा उनले प्रशासकीय भवनको शिलान्यास गरे।

९ करोड १८ लाख २४ हजार ३ सय ६४ रूपैयाँको लागतमा ६ तले भवन निर्माण हुने छ। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरमा भएका विकास निर्माणको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नसक्ने उनको भनाइ थियो। उनले जनप्रतिनिधिहरु जनताको अडिटिङमा खरो उत्रन सक्नुपर्नेमा जोड दिए। स्थानीय तहले आधारभूत रुपमा उल्लेख्य काम गरेको उनले बताए।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीको विकास र समृद्धिका लागि उल्लेख्य काम भएको बताए। जनताको सहयोगमा पूर्वाधार निर्माणमा इटहरीले फड्को मारेको उनले दाबी गरे। अब बाँकी सय दिनमा ५० भन्दा बढी योजना उदघाटन र शिलान्यास हुने प्रमुख चौधरीले जानकारी दिए।

उपप्रमुख लक्ष्मी गौतमले कोभिडका कारण ५ सय दिन विकास निर्माण प्रभावित भएपनि भौतिक पूर्वाधार निर्माणमा इतिहास रच्न सफल भएको बताइन्। उनले गाउँ गाउँका सडक कालोपत्रे भएको, २ वटा बाहेक सबै वडा कार्यालय भवन निर्माण, १४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको जानकारी दिइन्।

इटहरी वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ इन्जिनियर जीवन घिमिरेले भवनको प्राविधिक पक्ष र लागतबारे प्रष्ट पारे। पूर्व उपप्रधानमन्त्री पोखरेलले आज इटहरी-१७ खर्सेला खोलामा निर्मित पुलको उदघाटन पनि गरे। पुल २२ लाख १ हजार रूपैयाँको लागतमा निर्माण भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.