|

पर्वत : पर्यटकीय आकर्षणको केन्द्र रूपमा रहेको देशका एउटा ठाउँ हो गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीको पोखरा। नेपाल भित्रिने बाह्य पर्यटकहरूमध्ये पोखरा नपुग्नेहरू सायदै होलान्। सात तालको सहरका रूपमा चिनिने पोखराको बजार क्षेत्र र बजार बाहिर पनि पर्यटकीय गन्तब्यका ठाउँहरु उस्तै छन्।

फेवातालमा ‘बोटिङ’ गरेर होस वा सराङकोटको डाँडाबाट ‘प्याराग्लाइडिङ’ गरेर होस, सफा र आकर्षक ‘लेक साइड’ क्षेत्रको आनन्द लिएर होस वा शान्ति स्तुपामा पुगेर नै किन नहोस्। पदयात्रा देखि ‘माउन्टेन फ्लाइट’, बजारदेखि गाउँसम्मका दर्जनौँ आकर्षणले पर्यटकहरूलाई पोखरा तानेको छ, उनीहरूको बसाइ लम्ब्याएको छ।

यसमा झनै आकर्षण थप्न पोखराको सेदी–सराङकोट केबलकारको कल्पना जापानमा जन्मेका ताकासी मिहहाराले गरेका थिए। नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधान सभा निर्वाचन–२०६४ मा होमिएका उनले आफ्नो घोषणा पत्रमा नै केबलकारको योजना समावेश गरेका थिए तर उनले निर्वाचनमा हार खाए। कास्कीकै आकर्षक पर्यटकीय गन्तव्य सराङकोट पुग्ने मिहहाराको सपना १४ वर्षपछि पूरा भएको छ। नेपालमा बस्दाबस्दै नेपाली चेलीसँग बिहे गरेका उनी पर्यटन व्यवसायमा रहेका कारण पनि उनले सेदी–सराङकोट केबलकारको सम्भावना देखेका थिए।

दुई वर्ष अघि नै दिवङ्गत भएका उनको सपना भने अन्नपूर्ण केबलकार कम्पनीले पूरा गरेको छ। करिब आठ वर्ष अघिदेखि निर्माण प्रारम्भ गरिएको ‘अन्नपूर्ण केबलकार कम्पनी’ ले सबै काम पूरा गरेर गत शुक्रवारदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याएको छ। पोखराको करिब दुई अर्बको लागत सहित पोखराको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको केबलकार पोखराका लागि नयाँ पर्यटकीय गन्तव्य बनेको छ।

‘यसलाई पोखरको ड्रिम प्रोजेक्टका रूपमा लिन सकिन्छ। पर्यटनमा प्रचुर रहेको पोखराका लागि केबलकार पनि नयाँ भएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई थप आकर्षण गर्ने छ,’ कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले भने, ‘पर्यटक आएपछि केबलकार त चल्ने नै भयो। अब केबलकारका लागि आउने पर्यटकहरूका कारण पोखरा र आसपासका क्षेत्रका अन्य गन्तब्यमा पनि पर्यटकीय गतिविधि अझै बढ्ने विश्वास लिएका छौँ।’ पोखराका मुख्य आकर्षणका गन्तव्य बेसीमा रहेको फेवाताल र लेकमा रहेका सराङकोट पनि हुन्। त्यही लेक र बेसीलाई जोड्ने काम केबलकारले गरेको र फेवातालबाट केबलकार चढेर सराङकोट पुग्नुको आनन्द नै बेग्लै हुने उनको भनाई छ।

कुल २४ सय मिटर लम्बाइको यात्रा १० मिनेटमा पूरा हुने तथा तल्लो र माथिल्लो दुवै स्टेसनमा रेस्टुरेन्ट समेत निर्माण भएकाले पनि पर्यटकहरूको सुविधामा थप ध्यान सकिने कम्पनीको विश्वास छ। केही संरचना अझै निर्माणाधीन अवस्थामा छन्।

करिब डेढ अर्बको लगानीमा काम सक्ने भनिएको भए पनि कोभिड–१० का कारण भएको बन्दाबन्दीले सामग्रीको मूल्य बढ्नु र आयातमा नै समस्या हुनु लगायतका कारण करिब ५० करोड लगानी बढेको निर्देशक त्रिपाठी बताउँछन्। केबलकारमा केही जापानीजहरुको समेत लगानी रहेको छ। कुल लगानीको २५ प्रतिशत लगानी भने स्थानीयको रहेको छ।

केबलकारको लागत सुरुमा ८० करोड अनुमान गर्दै ३०/३० जना अट्ने दुई ओटा डिब्बा राखेर चलाउने गराउने गरी योजना गरिएको भए पनि पर्यटकीय सम्भावना र प्राविधिकहरूको सल्लाहको आधारमा योजना नै भयो। एउटा डिब्बा माथि जाँदा अर्को डिब्बा तल झर्ने खालको केबलकार बनाउने भनेर सुरु गरिएकोमा पछि भने एउटामा आठ जनाको क्षमता राखेर १८ ओटा डिब्बा निर्माण गरिएको हो। जसमा एउटा डिब्बा भने सामग्री ओसारपसारमा प्रयोग हुने छ।

कम्पनीका मेकानिकल इन्जिनियर चिफ डिएन कायस्थका अनुसार जापानको कम्पनीको डिजाइन र उसैले विकास गरेको प्रविधिको प्रयोगबाट पोखरामा केबलकार निर्माण गरिएको छ। प्रयोग भएका सामग्री र प्रविधि अहिले सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरि केबलकारभन्दा फरक रहेको उनको भनाई छ। ‘मनकामना र चन्द्रागिरिमा प्रयोग भएको भन्दा फरक प्रविधिको प्रयोग यहाँको केबलकारमा गरिएको छ। प्रविधि र सामान निप्पन केबुलको प्रयोग गरिएको छ,’ उनले भने, ‘पर्यटकको चाप बढ्यो भने अरू डिब्बा पनि थप्ने तयारी छ। पोखरा पर्यटकीय सहर भएकाले यहाँ पर्यटकहरु थप चाप हुन सक्छ भनेर थप डिब्बा थप्न सकिने पनि योजना छ। तर त्यो चापको आधारमा हुन्छ।’

केबलकारबाट फेवाताल सहित सूर्योदय, हिमशृङ्खला, पोखराको दृश्य लगायत नियाल्न सकिने छ। केबलकारको तल्लो स्टेसनमा फेवाताल रहेको छ भने माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ सुविधा, कफी सप लगायतको सुविधा छ। कम्पनीका अनुसार नेपालीका लागि प्रतिव्यक्ति सात सय, सार्क मुलुकका पर्यटकहरूको लागि प्रतिव्यक्ति आठ सय र यी बाहेकका देशका नागरिकका लागि प्रतिव्यक्ति नौ डलर तोकिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार केबलकार सञ्चालनमा आएको पहिलो दिन गत शुक्रवार १३ सय बढीले केबलकार चढेका छन्। पहिलो दिनमै केबलकार चढ्न उर्लिएको भिडले संंचालकहरु उत्साहित छन्। कम्पनीले टिकटमै प्रति यात्रु पाँच लाख रुपैयाँ बराबरको बिमा गरिदिएको छ। केबलकारको सराङकोट स्टेसनमा रेष्टुरेण्टसहित साहसिक खेलहरू रक क्लाइम्बिङ, जिपलाइन लगायतका खेल सञ्चालन गर्ने कम्पनीको योजना छ।

नेपालमा पहिलो केबलकार मनकामना केबलकार हो। २७ सय ७२ मिटर लम्बाइमा चितवनको कुरिन्टारदेखि गोरखाको मनकामना मन्दिरसम्म रहेको उक्त केबलकार सन १९९८ मा निर्माण गरिएको थियो। त्यसपछि दोस्रो सन २०१६ मा चन्द्रागिरिमा बन्यो, जसको लम्बाई २४ सय मिटर रहेको छ। तेस्रो केबलकार २४ सय मिटर लम्बाइको दोलखामा रहेको कालिन्चोक केबलकार हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.