|

बैतडी : बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ। सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथसिंह नायकले बताए।

उनले भने, ‘अभियान थालनी भएको छोटो अवधिमै उल्लेख्य रकम सङ्कलन गर्न सफल भएका छौं। देश तथा विदेशबाट उठेको रकमबाट तथा नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका हौँ।’

विसं २०७७ चैतबाट थालिएको अभियानमार्फत १३ लाख ८० हजार सङ्कलन भएको र १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको हो।

विरामी परेका वेला एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पताल जानुपर्ने बाध्यता अन्त्यका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सोसाइटीले जनाएको छ।

मेलौलीमा एम्बुलेन्स सञ्चालन भएपछि खुशी लागेको स्थानीय रुवी नायकले बताइन्। उनले भनिन्, ‘आपतको घडीमा सवारी नपाउने अवस्था रहेकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सजिलो हुन्छ।’

एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाइटी नेपालले खेलेको भूमिका र सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालन उदाहरणीय काम भएको बताए।

​उनले भने, ‘यो निकै सह्रानीय काम हो। यसले समाजसेवा गर्न प्रेरित समेत गर्छ।’ एम्बुलेन्स सेवा सञ्चालन अभियानले ग्रामीण भेगका बासिन्दालाई सहज हुने विश्वास गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.