|

विराटनगर : प्रदेश १ सरकारले प्रदेश नामकरणका लागि आज मंगलबार सर्वदलीय बैठक गरेको छ। पाँचदलीय गठबन्धनका तर्फबाट प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको हो।

प्रदेश १ को नाम राख्नका लागि समन्वय तथा सहजीकरण गर्ने क्रममा बोलाइएको बैठकको अध्यक्षता मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए। बैठकको सञ्चालन स्वास्थ्यमन्त्री जयराम यादवले गरे। मन्त्री यादवलाई गत माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी दिएको थियो। सोहीबमोजिम सर्वदलीय बैठक आह्वान गएिको मन्त्री यादवले बताए।

बैठकमा मुख्यमन्त्री राईले प्रदेश १ को नामकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको भए पनि सरकारका तर्फबाट सहजीकरणको शुरुवात गरिएको बताए। उनले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गरे।

सर्वदलीय बैठकमा नेकपा एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आ–आफ्ना दलका तर्फबाट धारणा राखे। बैठकमा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इञ्चार्ज घनेन्द्र बस्नेत, नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पनि आ-आफ्ना धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.