|

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।

त्यसबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा स्थायी कमिटीको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता जसरी पनि अनुमोदन गर्ने गरी अघि बढेकाले माओवादी सरकारमा नबस्ने निष्कर्षमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए।

‘अध्यक्षले पटक–पटक प्रधानमन्त्रीसँग छलफल गर्नुभयो। जसरी पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्ने देखियो,‘ ती स्थायी कमिटी सदस्य भन्छन्, ‘अब बालुवाटारसँग छलफलको अर्थ छैन। सम्भवतः आजै सरकारबाट बाहिरिन्छौँ।’

माओवादी संसदीय दलको बैठकले एमसीसी जबरजस्ती अनुमोदन गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। यद्यपि, माओवादी एमसीसी संसद्मा टेबल गर्न सहमत भएको थियो। माओवादी अध्यक्ष प्रचण्डले सभामुख सापकोटालाई कांग्रेस पनि हटाउन लागि परेको भन्दै टेबल गर्न दिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएको छ। 

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ। सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छन्। 

तर, प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेतृत्वसँग एमसीसी पारित गर्न आफू जुनसुकै विकल्पमा छलफल गर्न तयार रहेको बताइसकेका छन्। त्यसका लागि कांग्रेस र माओवादी शीर्ष नेतृत्वले पटक पटक छलफल गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.