|

म्याग्दी : बेनी नगरपालिका–४ सिङ्गास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेको छ। बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा स्वादिलो हुने भएकाले उनीहरूको रोजाइमा परेको स्थानीयको भनाइ छ।

तातोपानीमा स्नान गरेपछि असला माछा खाने र आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रुपमा लाने गरेका छन्। अहिले ताजा माछा प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री हुने गरेको तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताइन्।

कोरोना भाइरस संक्रमणको जोखिम कम भएपछि पछिल्लो समय तातोपानी कुण्डमा नुहाउन आउनेको संख्या बढेकाले पुर्‍याउन धौ–धौ हुने गरेको तुलाचनको भनाइ छ। माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको उनले बताइन्।

‘माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ,’ तुलाचनले भनिन्‚ ‘तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकहरुको माग थेगिनसक्नु हुन थालेपछि पुर्‍याउन सकिएको छैन।’

म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बावियाचौर क्षेत्रबाट माछा मारेर व्यापारीहरूले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन्। तर‚ पछिल्ला केही वर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयको सहयोगमा प्रहरीले समेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ।

तातोपानीका होटलहरुका भान्सामा विषादीरहित माछा पाइने स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताए। माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको उनको भनाइ छ।

फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल व्यवसायी एवं तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए। उनका अनुसार तातोपानीका युवाहरुले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर बिक्री गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.