|

म्याग्दी : बेनी नगरपालिका–९ का तेजेन्द्र बानियाँ गाउँगाउँ पुगेर राष्ट्रिय खेल भलिबलका खेलाडी उत्पादन गरिरहेका छन्। भारतको बैंग्लोरबाट सन् २०१९ मा भलिबल प्रशिक्षक कोर्स पूरा गरी फर्किएपछि उनले म्याग्दी, मुस्ताङ, बाग्लुङ, पर्वत, कास्कीसहित देशका विभिन्व २० ठाउँमा पुगेर प्रशिक्षण दिइसकेका छन्।

यस्तै‚ तेजेन्द्रले नेपाली सेनाको श्रीबक्स गुल्म, वीरदल गढ रौतहट, श्री मेहर गढ बाग्लुङमा पनि भलिबल प्रशिक्षण दिएका छन्। युवा पुस्तालाई भलिबल खेलप्रति आकर्षित गर्दै खेलाडी उत्पादनका लागि पनि बस्ती–बस्तीमा प्रशिक्षण दिइरहेको उनको भनाइ छ।

‘अधिकांश गाउँबस्तीमा नियमित जस्तै भलिबल खेलिन्छ,’ उनले भने‚ ‘गाउँका खेलाडीको पहिचानमा समेत प्रशिक्षणले सघाएको छ।’

राष्ट्रिय खेल भए पनि सरकारले ध्यान नदिँदा ग्रामीण क्षेत्रमा भेटिएका उत्कृष्ट प्रतिभाले बञ्चित हुनु परेको तेजेन्द्रको भनाइ छ। गाउँघरमा क्लबमार्फत प्रतियोगिता हुने भए पनि प्रशिक्षण र सीप हस्तान्तरणको अभाव रहेको उनको बुझाइ छ। गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको उत्पादन गर्न प्रशिक्षणमा जुटेको तेजेन्द्र बताउँछन्। पछिल्लो समय स्थानीय तहको लगानीले वडास्तरबाट नै खेलाडी उत्पादनमा सहज भएको उनको भनाइ छ।

उनले पछिल्लोपटक बाग्लुङको काठेखोला गाउँपालिका-७ नुनथलामा एक महिने भलिबल प्रशिक्षण दिएका थिए। वडा कार्यालयको सहयोगमा भएको प्रशिक्षणमा ४० युवा सहभागी थिए। प्रशिक्षणमा तेजेन्द्रले शारीरिक व्यायाम, भलिबलका आधारभूत सिप, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ, स्पाइकर, ग्रीपजस्ता सीप सिकाएको उनको भनाइ छ। एक वर्षअघि बाग्लुङ नगरपालिका–७, तितौरेमा एक महिने प्रशिक्षण दिएका थिए।

उनले हरेक स्थानीय तहमा रहेका भलिबल खेलाडी आवद्ध क्लबलाई लगानी तथा खेलाडीको वर्गीकरण गरे प्रदेश तथा राष्ट्रिय टिममा आउन चाहने व्यावसायिक खेलाडीलाई सहज हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.