|

बैतडी : बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लब सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो। यसअघि कैलपाल क्रिकेट क्लब, आयोजक पाटन युवा क्लब र पाटन क्रिकेट एकेडेमी अन्तिम ४ मा पुगिसकेका छन्।

आज भएको खेलमा ग्वाल्लेकले भूमेश्वर युथ क्लबलाई ५ विकेटले पाखा लगाउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो। भूमेश्वरले दिएको १ सय १४ रनको विजयी लक्ष्य ग्वाल्लेकले ९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। उसको जितमा दीपक जोशी नायक बने। उनले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ६८ रन हिर्काए। भूमेश्वरका नविन विष्टले २ विकेट हात पारे।

त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको भूमेश्वरले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय १३ रन जोडेको थियो।जसमा उमेश महराले २४ र दीपेन्द्र विष्टले २३ बनाए। ग्वाल्लेकका दीपक जोशी र प्रेम चन्दले २/२ विकेट लिए। खेलका म्यान अफ द म्याच ग्वाल्लेकका दीपक जोशी चुनिएको स्कोरर किरन चन्दले जानकारी दिए।

यसैबीच सेमिफाइनल बिहीबार हुने भएको छ। पहिलो सेमिफाइनलमा कैलपाल र ग्वाल्लेक भिड्दा दोस्रोमा आयोजक पाटन र एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ। फाइनल फागुन २० गते हुनेछ। उपाधि विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए।

सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ३ सय ३३, बेस्ट ब्याट्सम्यान र बलरलाई जनही १ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ मा शुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.