|
तस्वीर सौजन्य : रोयटर्स

अमेरिकाले रूसको पेट्रोलियम प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएपछि तेलको भाउ अकासिएको छ। अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बिहीबार एक दशकयताकै उच्च भएको छ। बिहीबार तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलर पुगेको छ।

ब्रेन्ट क्रुड फ्युचर्स (उत्तरपश्चिमी युरोपेली तेल बजार) मा बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य १ सय १९ डलर ८४ सेन्ट पुगेको छ। यो अघिल्लो मूल्यभन्दा ६ डलर ८५ सेन्ट बढी हो। यो मूल्य सन् २०१२ मेपछि अहिलेसम्मकै उच्च भएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ।

यसबीच ओपेक प्लस (अर्गनाइजेशन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज र रूसलगायत संगठनका सहयोगी देशहरू)ले विश्व बजारमा तेलको कमी हुन नदिन यो महिना (मार्च) दैनिक ४ लाख ब्यारेल थप तेल उत्पादन गर्ने जनाएको छ।

अमेरिकाले रूसका तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाए पनि रूसको तेल तथा ग्यास निर्यातमा प्रतिबन्ध लगाएको छैन। तर रूसका प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएपछि विश्वभर नै यसपछि रूसको तेल र ग्यास निर्यातमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने आशंका गरिएको थियो।

तर अमेरिकाले रूसको तेल र ग्यास निर्यातमाथि भने अहिलेसम्म प्रतिबन्ध लगाएको छैन। रूसले जर्मनीसहित युरोपेली देशमा रूसले ठूलो परिमाणमा ग्यास निर्यात गर्छ।

जर्मनीमा खाना पकाउन प्रयोग हुने ग्यासको ३५ प्रतिशत हिस्सा रूसबाट आयात हुन्छ। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

रूस विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आइइए)का अनुसार रूस विश्व बजारमा सबैभन्दा बढी तेल निर्यात गर्ने राष्ट्र पनि हो

एजेन्सीका अनुसार रूसले कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ गरी गएको डिसेम्बरमा दैनिक सरदर ७८ लाख ब्यारेल निर्यात गरेको थियो। अमेरिकी ऊर्जा विभागका अनुसार रूसले दैनिक करिब ५५ लाख ब्यारेल कच्चा पेट्रोलियम पदार्थ प्रशोधन गर्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.