जनकपुरधाम : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशका पत्रकारका लागि कल्याण कोष तथा पेन्सन लागू गर्न मिडिया काउन्सिललाई पूर्ण साथ र सहयोग रहने बताएका छन्।
बिहीबार सञ्चारमन्त्री साहले मधेस प्रदेशका मिडिया काउन्सिलले महोत्तरीको बर्दिबासमा 'सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण'का लागि आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रम बोल्दै पत्रकार आचारसंहिताको पालना गर्दै देश र जनताको पक्षमा कलम चलाउने पत्रकारहरूलाई सम्मानसहित पुरस्कृत गर्ने पक्षमा प्रदेश सरकार रहेको जानकारी गराए।
आचारसंहिता विपरीत काम गर्ने पत्रकारहरूमाथि कारबाही गरेर कानुन पालना गर्न बाध्य पारिने पनि बताए।
मन्त्री साहले संविधानको पालना गर्नका लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध भए पनि सङ्घीय सरकारले कतिपय संवैधानिक प्रावधान कार्यान्वयन नगरेर संविधान उल्लंघन गरेको आरोप लगाए।
मन्त्री साहले प्रदेश प्रहरी स्थापना तथा परिचालनको अधिकार संविधानले नै प्रदेश सरकारलाई प्रदान गरे पनि हालसम्म पनि प्रहरी ऐन कार्यान्वयन गर्न नदिन सङ्घीय सरकारले व्यवधान गरिरहेको दाबी गरे।
मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव लगायतले आचारसंहिता पालनाले मर्यादित पत्रकारिताको विकासमा योगदान दिने गरेको बताए।
धनुषा, महोत्तरी र सर्लाहीका पत्रकार सहभागी कार्यक्रममा काउन्सिलले तयार पारेको प्रारम्भिक आचारसंहितामाथि छलफल गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।