|


हेटौंडा : काठमाडौं विश्वविद्यालयले बागमती प्रदेश सरकारलाई हाइड्रोजन प्रविधिबाट मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको छ।

बिहीबार हेटौंडा आइपुगेको विश्वविद्यालयको प्राविधिक टोलीले हाइड्रोजन प्रविधिबाट रासायनिक मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको हो। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालयसँग प्राविधिक परामर्श तथा छलफल गरेको थियो।

छलफलमा विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले मल कारखाना हाइड्रोजन प्रविधिबाट उत्पादन गर्दा उपयुक्त हुने सुझाव दिएका हुन्। विश्वविद्यालयले डेढ वर्षदेखि नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन गर्न अध्ययन अनुसन्धान गरिरहेको छ। डा. थापाले नेपालमा स्वच्छ पानी र पर्याप्त विद्युत् भएकाले हाइड्रोजनबाट मल उत्पादन गर्न सहज हुने बताएका थिए।

‘हाइड्रोजन बनाउन पानी र विद्युत आवश्यक हुन्छ। दुवै नेपालमा सहज उपलब्ध छ। विद्युत् खेर गइरहेको अवस्थामा हाइड्रोजन निकालेर गरेर मल उत्पादन गर्नुपर्छ’, उनले भने, ‘हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्दा खर्च कम पर्छ।’

हाइड्रोजन उत्पादन खतरायुक्त मानिए पनि विश्वले नै पेट्रोल र डिजेल विस्थापन गरेर हाइड्रोजन उत्पादनमा ध्यान केन्द्रित गरिरहेको उनको भनाइ थियो। विश्वका अन्य मुलुकले पनि हाइड्रोजनबाट मल उत्पादन गरिरहेको उनले दावी गरे। हाइड्रोजन उत्पादन नगरे भारतबाट प्राकृतिक ग्यास ल्याएर मल उत्पादन गर्नुपर्ने थापाले बताए।

भारतबाट प्राकृतिक ग्यास ल्याएर मल उत्पादन गर्दा प्रतिकेजी ३१ रुपैयाँ पर्न जाने र स्वेदशमै हाइड्रोजनबाट मल उत्पादन गरे १८ देखि २० रुपैयाँ प्रतिकेजी मल पर्न जाने थापाको भनाइ छ। हाइड्रोजन उत्पादन गर्न सरकारले प्रतियुनिट ३ रुपैयाँमा विद्युत् उपलब्ध गराउनुपर्ने प्राविधिक टोलीले जनाएको छ।

‘सरकारले ३ रुपैयाँ प्रतियुनिट विद्युत् दिए कम खर्चमै हाइड्रोजन उत्पादन गर्न सकिने र मल उत्पादनमा लागत पनि कम लाग्छ’, थापाले भने। कोइलाबाट उत्पादन गर्दा मल प्रतिकेजी ४० रुपैयाँ पर्न जाने थापा बताउँछन्।

उनले पेट्रोलियम पदार्थ विस्थापन गरेर हाइड्रोजनबाट नेपालमा गाडी सञ्चालन गर्नुपर्ने बताए। काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले नेपालमा हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्न सम्भव भएको बताए। पेट्रोलियम पदार्थ उत्पादन गरेर नाफा कमाइरहेको भारतले नेपालमा हाइड्रोजन उत्पादन गर्न नदिने आशंका गर्दै नेपालका राजनीतिक दलले मुलुकको भविष्य हेरे हाइड्रोजन उत्पादनमा जोड दिनुपर्ने बताए।

कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले किसानले सधैँ भोग्दै आएको मल अभावको समस्या दीर्घकालीन रूपमै समाधान गर्न सरकार लागिपरेको बताए। प्रदेश सरकारले कुनै पनि हालतमा मल कारखाना सञ्चालन गर्ने अठोट लिएको उनको भनाइ थियो। मल कारखाना नेपालीकै लगानीमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। सरकार, निजी क्षेत्र, सहकारी र सार्वजनिक लगानीमा मल कारखाना स्थापन गर्नुपर्ने उनले बताए। 

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.