|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसिसीका कारण नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहिसकेका थापाले एमसिसी संसदबाट पारित गराउने वेलामा नेपालमाथि शक्ति राष्ट्रले दबाब दिएको आरोपसमेत लगाएका छन्। 

उनले शक्ति राष्ट्रका कारण नै नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्न प्रयास गरेको भन्दै यसबाट नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्न सक्ने देखिएको बताए।

उनले शक्ति राष्ट्रहरूले नेपालको स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी नेपालका राजनीतिक दलका नेताहरूलाई दबाब दिइरहेको दाबीसमेत गरे। त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठेको अध्यक्ष थापाको भनाइ थियो।

उनले भने, ‘सबभन्दा डरलाग्दो र खतरा कुरा के भने नेपाल विस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको छ। यही एमसिसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरू भन्छन्–चाँडो भन, चाँडो निर्णय गर, नभए खारेज गर्छौं। चीनका पदाधिकारी भन्छन्–जबरजस्ती अनुदान दिनु हुँदैन। नेपालले अनुदान लिने वा नलिने हामीले निर्णय गर्ने कुरा हो। देशलाई हित हुन्छ भने लिन्छौं, हुँदैन भने हामी लिँदैनौं। तर विदेशी शक्तिको दबाब र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरूमाथि परिरहेको छ। यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भीर प्रश्न खडा भएको छ।’

अध्यक्ष नेपालले विदेशी सहायता लिने/नलिने निर्णय नेपालले नै लिनुपर्ने भएपनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप गरिरहेको आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.