|

धनकुटा : मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना सार्वजनिक गरेको छ। विश्वविद्यालयले तीन वटा स्कुलअन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा २८ वटा विषय सञ्चालन गरी २ हजार ८३१ जना जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

विश्वविद्यालयले शनिवार धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७/७९ का विषयमा पत्रकार तथा विद्यार्थी संगठन र शिक्षक संगठनसँग अन्तरक्रिया गर्दै उक्त जानकारी दिएको हो। देशमै पहिलो पटक प्रदेश १ सरकारले स्वायत्त कानुन निर्माण गरेर विश्वविद्यालयको स्थापना गरेको डिन डा. प्रचण्डमान श्रेष्ठले बताए।

उनका अनुसार प्रदेश १ सरकारले प्रदेशसभाबाट स्वायत्त कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी विश्वविद्यालयको स्थापना गरेको हो। दुई वर्षअघि नै कानुन निर्माण भए पनि थुप्रै नियमावली र निर्देशिका बनाउनुपर्ने भएकाले सञ्चालनका लागि समय लागेको डिन श्रेष्ठले बताए।

प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने उद्धेश्यले विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङको स्थापना भएको विश्वविद्यालयका इन्जिनियर नरेन्द्रकुमार डाँगीले बताए। अबको आवश्यकता प्राविधिक शिक्षाको भएको र इञ्जिनियरिङ विषयको माग रहेको डाँगीको भनाइ छ। युवालाई प्राविधिक शिक्षातर्फ अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्ने वर्तमान आवश्यकता परिपूर्तिका लागि विश्वविद्यालयको स्थापना भएको उनले बताएका छन।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन विश्वविद्यालय लागि परेको इञ्जिनियर युवराज चौधरीले बताए। पर्याप्त भौतिक संरचना र गुणस्तरीयतामा जोड नै विश्वविद्यालयको पहिचान रहेको उनको भनाइ छ।

विश्वविद्यालयले स्कुल अफ इञ्जिनियरिङअन्तर्गत स्नातक तहको सिभिल इञ्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा भर्ना खुलाएको छ। प्रत्येक फ्याकल्टीमा ४८ जनाको सिट स्वीकृति लिइए पनि यो वर्ष २४ कोटामा भर्ना लिइने भएको छ। विश्वविद्यालयले प्रदेश १ का लागि मात्र महिला १, लक्षित वर्ग २ र दलित वर्ग १ गरी ४ वटा कोटा छुट्याएको छ। प्रदेश १ सरकारको अनुदानबाट विश्वविद्यालय सञ्चालन हुने भएकाले प्रदेश १ कै जनतालाई लाभ पुर्‍याउन कोटा छुट्याइएको अधिकृत सुजन भुर्तेलले बताए। २४ सिटमध्ये विभिन्न कोटासहित १५ कोटा आरक्षित र ९ कोटा खुला रहेको उनको भनाइ छ।

विश्वविद्यालयले ४ वर्षे स्नातक तहअन्तर्गत सिभिल इञ्जिनियरिङमा नेपाली विद्यार्थीका लागि ५ लाख ८० हजार, विदेशीका लागि ८ लाख ४९ हजार ८०० र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा नेपालीका लागि ५ लाख ७० हजार र विदेशी विद्यार्थीका लागि ८ लाख ३९ हजार ८०० रुपैयाँ शुल्क तोकेको छ। ३० जना महिला विद्यार्थीका लागि होस्टेल क्षमता रहेको र प्रतिमहिना आवास शुल्क ६०० रुपैयाँ तोकिएको छ। आगामी चैत २ गतेसम्म भर्नाका लागि आवेदन खुला गरिएको र बिलम्ब शुल्क तिरेर थप सात दिनभित्र आवेदन दिन सकिने छ।

विश्वविद्यालयले हाल स्कुल अफ इञ्जिनियरिङ सञ्चालन गर्न लागेको भए पनि भविष्यमा स्कुल एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एप्लाइड हेल्थ साइन्सेज सञ्चालन गर्ने योजना रहेको डिन प्रधानले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.