|

काठमाडौं : आज मार्च ८ अर्थात् अन्तरराष्ट्रिय श्रमिक महिला दिवस। महिला सशक्तीकरण र श्रमिक महिलाको सम्मानमा यो दिवस विश्वभरि मनाउने गरिन्छ। नेपालमा पनि प्रशासनिक, सार्वजनिक सेवा क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको छ। महिलाले सम्हालेका क्षेत्रमा कामको परिणाम पनि राम्रो आउने बताइने गरिएको छ।

पछिल्ला दुई वर्षमा जनजीवन नै अस्तव्यस्त पारेको कोरोना महामारीका वेला स्वास्थ्य क्षेत्रको नेतृत्व तहमा रहेका महिलाहरूले उत्कृष्ट काम गरेको छन्।

कोरोना महामारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माथिल्लो नीतिगत तह र अग्र पंक्तिमा रहेर महिला कर्मचारीले काम गरे। 

यी हुन् कोरोना महामारीमा अग्र पंक्तिमा रहेर काम गरेका स्वास्थ्यका महिला कर्मचारीः

डा संगीता मिश्रा

प्रवक्ता, स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण महाशाखा मानिने अन्तरराष्ट्रिय समन्वय महाशाखा हाल डा. संगीता कौशल मिश्राले हाँकिरहेकी छ। कोरोना महामारीको शुरुमा विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको निर्देशक रहेकी उनले त्यहाँ उत्कृष्ट काम गरेकी थिइन्। कोरोना संक्रमणको शुरुवातमा देशभरका निजीदेखि केही सरकारी अस्पतालले गेट बन्द गरेर बस्दा अरू बिरामीका लागि पनि अस्पताल खुलै राख्ने निर्णयसहित कोरोना संक्रमितको उपचारमा खटिएकी डा मिश्राको कामको त्यतिबेला चौतर्फी प्रशंशा भएको थियो। उनलाई पछि थापाथलीस्थित प्रसूति अस्पतालको निर्देशकमा ल्याइएको थियो। त्यहाँ पनि उत्कृष्ट काम गरेर देखाएकी डा मिश्रा हाल मन्त्रालयको शक्तिशाली मानिने अन्तरराष्ट्रिय समन्वय महाशाखाकी प्रमुख छिन्।  

 डा रुना झा

 निर्देशक: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

 कोरोना महामारीको शुरुदेखि नै फ्रन्टलाइनमा रहेर जुध्ने अर्की योद्धा हुन्- डा रुना झा। टेकुस्थित   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रहेकी उनले देशभरिका प्रयोगशालाको नेतृत्वदायी   भूमिका सफलतापूर्वक निभाउने स्वास्थ्य मन्त्रालयकी महिला कर्मचारी हुन्।

 स्रोत, साधन र जनशक्ति अभावबीच पनि झाले कोरोना परीक्षणमा देखाएको नेतृत्वदायी   भूमिका उत्कृष्ट रहेको छ। महामारीको कुनै समय दैनिक १८ घन्टाभन्दा बढी काम गरेकी झालाई   संयुक्त राष्ट्रसंघको युएन वुमेनले कोरोना भाइरस नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गरिरहेका ५ महिलाको सूचीमा राखेको थियो।

रिता जोशी भण्डारी

सचिव, सुदूरपश्चिम प्रदेश

स्वास्थ्य सेवामा नीतिगत तहमा पुगेर काम गर्ने अर्की महिला हुन रिता जोशी भण्डारी।

लामो समय उपत्यकाबाहिर रहेर स्वास्थ्य क्षेत्रमा सेवा गरेकी जोशीले कोरोना महामारीका वेला छोटो समय भए पनि मन्त्रालयको आकर्षक महाशाखा मानिने अन्तरराष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारी सम्हालेकी थिइन्। सो महाशाखामा रहेर विभिन्न दातृ निकायसँग कोरोना नियन्त्रणका लागि स्रोत जुटाउन उनी सफल भएकी थिइन्।

उनी अहिले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको भूमिकामा छिन्।

 यशोदा अर्याल

 सहसचिव, स्वास्थ्य मन्त्रालय

 कोरोना महामारीमा स्वास्थ्य   मन्त्रालयमा पर्दा पछाडि रहेर उत्कृष्ट काम गर्ने अर्की महिला कर्मचारी हुन् यशोदा अर्याल। हाल १०   औं तहमा रहँदा अन्तरराष्ट्रिय सहयोग र अन्तर मन्त्रालय समन्वय विशेष काम हुने समन्वय शाखामा   कोभिड—१९ को समयमा सचिवदेखि अन्य मन्त्रालयका अधिकारीको समेत भावना बुझेर उनले   कुशलतापूर्वक नीति निर्माणको फ्रेमवर्क बनाउनेदेखि माथिल्लो तहबाट भएका निर्णय कार्यान्वयन   गर्न भूमिका खेलिन्। गत मंसिरमा ११ औं तह अर्थात् सहसचिवमा नाम निकाल्न सफल भएकी हुन्   उनी। तत्काल भने उनलाई कुनै जिम्मेवारी दिइएको छैन।

डा मनीषा रावल

निर्देशक, टेकु अस्पताल

कोरोना महामारीमा नेतृत्वदायी भूमिकामा बसेर फ्रन्टलाइनमा खटिने अर्की स्वास्थ्यकर्मी हुन्- डा मनीषा रावल। हाल टेकु अस्पतालको निर्देशक रहेकी छन् उनी। कोरोनाको शुरुवातमा नेपालको एकमात्र सरुवा रोग अस्पतालमा कोरोना संक्रमितहरूको सेवामा हरदम तैनाथ थिइन् उनी। कोरोनाको तेस्रो लहर आइपुग्दा उनी टेकु अस्पतालको नेतृत्व सम्हालिरहेकी छन्।

उत्कृष्ट महिला कर्मचारीको सूचीमा अरु पनि उल्लेखनीय नामहरू छन्। पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन हेर्ने सचिवका रुपमा देवकुमारी गुरागाईं आएकी छन्। यस्तै राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी निर्देशक डा. सुधा देवकोटा, नर्सिङ महाशाखाकी प्रा. गोमादेवी निरौला (सहसचिव), वीर अस्पतालकी रोशनीलक्ष्मी तुईतुई (सहसचिव) र स्वास्थ्य सेवाकी डा. राधिका थपलिया (सहसचिव) एघारौं तहमा कार्यरत केही उल्लेखनीय महिला कर्मचारी हुन्।

यस्तै यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी महिला सचिवले सफलतापूर्वक निर्वाह गरिसकेका छन्। डा. सुधा शर्मादेखि हाल देवकुमारी गुरागाईंसम्मले स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्। डा. किरण रेग्मी, डा. पुष्पा चौधरी, यामकुमारी खतिवडा हुँदै अहिले देवकुमारीको कमाण्डमा स्वास्थ्य मन्त्रालय अघि बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.