पत्नी र परिवारका सदस्यसँग झगडा

|
फाइल तस्वीर

धनगढी : सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा सोमबार हत्या गरेर फालिएको अवस्थामा एक भारतीय पुरुषको शव फेला पर्‍यो। धनगढी उपमहानगरपालिका-५ शिवनगर र जाई जोड्ने सडकछेउको नालीमा भारत उत्तरप्रदेशको शाहजापुरा बस्ने ४२ वर्षीय कुलदीप गुप्ताको शव फेला परेको थियो। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीले कुकुर लगेर घटनास्थलको जाँच गरेको छ। गुप्ताको गालापट्टीको भाग र कंचटमा चोट लागेकाले प्रहरीले उनको हत्या भएको जनाएको छ। उनको शरीरको घाउमा काठका टुक्रा र घटनास्थलमा काठको डन्डी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। काठको डन्डीमा रगतसमेत भेटिएको उनले बताए।

उक्त काठ घटनामा प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलको अवस्था हेर्दा अन्यत्र हत्या गरेर त्यहाँ शव फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। ‘गुप्ता शनिबारमात्र भारतबाट धनगढी आएको परिवारका सदस्यले जानकारी गराएका छन्,’ डिएसपी जोशीले भने, ‘उनका दुईजना भाइ पनि धनगढीमै बस्दै आएका रहेछन्। घटनाबारे हामीले उनीहरूसँग सोधपुछ गरिरहेका छौँ। उनी मृत फेला परेको ठाउँसँग उनको सम्बन्ध कस्तो थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार मृतक गुप्ताकी पत्नी र परिवारका सदस्यसँग पनि झगडा हुँदै आएको थियो। पछिल्लोपटक पत्नीसँग झगडा भएरै उनी भारतबाट धनगढी आएको पनि अनुसन्धानका क्रममा खुलेको छ। ‘प्रारम्भिक अनुसन्धानका क्रममा कसैले रिसइबी साँध्न हत्या गरेको जस्तो पनि देखिन्न,’ डिएसपी जोशीले भने, ‘उनीसँग नगद त परै जाओस् मोबाइल पनि थिएन। त्यसैले लुटपाटको कोण पनि अनुसन्धानको घेरामा छैन।’

शवको पोष्टमार्टमपछि थप तथ्य थाहा हुने प्रहरीको विश्वास छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.