|

काठमाडौं : मनाङ मर्स्याङदी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मोफसलको सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा मनाङले पेनल्टी सुटआउटमा हिमालयन शेर्पालाई ४-२ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय दुवै टीमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट भएको थियो। पेनल्टी सुटआउटमा मनाङका अन्जन विष्ट,  रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरेका थिए। हिमालयनका शेर्पाका लागि उलिच सिवे र पिस्टन मुटाम्बाले गोल गरेपनि विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुक्दा मनाङ फाइनलमा पुगेको थियो।

त्यसअघि धनगढी रंगशालामा भएको खेलमा मनाङले २८ औं मिनेटमा शिशिर लेखीको गोलमार्फत अग्रता लिएको थियो। उनले अञ्जन विष्टको क्रसलाई सदुपयोग गर्दै टीमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर अग्रताका वावजुद मनाङ दबाबमा देखिएको थियो। खेलमा फर्कने राम्रो प्रयास गरेको शेर्पाले पहिलो हाफमा गोलका केही राम्रा अवसर गुमाएको थियो।

दोस्रो हाफमा मनाङले खेलमा केही पकड बनायो। शेर्पाका पहिलो रोजाइका गोलरक्षक किशोर गिरी मनाङका कप्तान अञ्जन विष्टसँग ठोक्किएपछि चोटग्रस्त हुँदै मैदानबाट बाहिरिँदा शेर्पा थप दबाबमा परेको थियो। तर १-० ले पछि परेको अवस्थामा ८० औं मिनेटमा शेर्पाले बराबरी गोल फर्काउँदै आफ्नो फाइनल संभावना कायमै राख्यो।

उसका लागि शुरेश कुमालले विकास मिराग्लियाको लामो दूरीको पासलाई सदुपयोग गर्दै टीमलाई बराबरीमा ल्याए। त्यसपछि दुवै टीमबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

तर पेनल्टी सुटआउटमा शेर्पा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। अब मनाङले उपाधिका लागि बागमती युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। विजेताले पुरस्कारबापत २१ लाख प्राप्त गर्दा उपविजेताले १० लाख नगद हात पार्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.