|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन।

बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन । मृत्युपश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए। मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समुहलाई ठुलो बनाएको समेत बताए। नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने समेत उनले स्पष्ट पारे ।

उनले भने ‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ,पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो,अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ, नाता पर्नेजति सबैले पाउँछ। हामीले मृत्यूपश्चातको अंग दान पनि गर्न सक्छौँ, मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ।’

यस्तै उनलेमृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाई छ । उनले भने ‘मृगौला दान गर्दा पनि समस्या हुँदैन । मृगौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन ।

दुईवटा मध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरिरमा त्यति ठुलो समस्या आउँदैन र मृगौला फेरेको मान्छेहरुले पनि आफुलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मृगौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन । अन्य स्वस्थ मानिसजस्तै अथवा अन्य मृगौला नफेरेका मानिसजस्तै मृगौला फेरेको मान्छे पनि उत्तिकै स्वस्थ हुन्छन् र जीवनमा त्यत्तिकै योगदान गर्न सक्छन् । काम गर्न सक्छन् । सिर्जनात्मक सोँच अनुसार अगाडी बढ्न सक्छन्।’

१० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्वन्धी कुनै न कुनै रोगबाट पीडित छन्। नेपालमा हरेक वर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको तथ्याङ्क छ। मधुमेह रोग भएका विरामीहरुलाई त मृगौलाको रोग हुने संभावना अझ ३ गुणा बढी हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.