|

झापा : पाहुना टोली सिक्किमको रेडपान्डा (आरपी) एफसीमाथि सानदार जित निकाल्दै झापा ११ पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। झापा ११ अब सेमिफाइनलमा संकटा क्लबसँग भिड्नेछ।

संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाँचौँ संस्करण चलिरहँदा झापा ११ अघिल्ला चारवटै संस्करणको फाइनलसम्म पुगेको थियो।

बिर्तामोड-३ स्थित घरेलु मैदान डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ ले रेडपाण्डालाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो। झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई (बी) र विश्वास श्रेष्ठले गोल गरे। रेडपाण्डाले झापा–११ लाई १ आत्मघाती गोल उपहार दियो।

रेडपान्डाले १ गोल फर्कायो। उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे। झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फल गरेपछि पेनाल्टी पाएको थियो।

झापा–११ ले खेलमा शुरुवाती अग्रता लिएको थियो। खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरे। सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डि-एरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे।

५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले गोल गरे। झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राई बीले गरे। उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिबाउन्ड भएको बललाई पोस्टको दिशा दिए। ७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे। सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे।

तर ६०औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए। खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्‍याए। मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो। खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो। सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।

सिक्किमका कुनेमान थापाले खेलको १६ औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो। बिहीबारको खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए। उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए। भोलि शुक्रबार पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.