|

बझाङ : बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा 'सुटुक्क' पुगेर फर्किएको भारतीय नागरिक सवार भनिएको हेलिकप्टरमा पश्चिम सेती परियोजनाका लागि स्थलगत अवलोकन गर्न नेपाली नागरिक नै आएको प्रशासनले जनाएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रेर आधा घन्टापछि फर्किएको थियो।

हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे अहिले बुझ्दा पश्चिम सेती परियोजनाका बारेमा स्थलगत अवलोकन गर्न सुर्खेतबाट आएको बुझिएको सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले बताए। माथिबाट नै खटाएको र केही प्राविधिक समस्याले आफूहरूलाई जानकारी गर्न समस्या भएको र हेलिकप्टरमा नेपाली नागरिक नै आएको सुर्खेत टावरबाट जानकारी आएको समेत उनले जानकारी दिए।

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका मानिसले सेती नदी अवलोकन गरेर फर्केका थिए। हेलिकप्टर आउने कुनै जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले बताएका थिए। 

उनका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेको बताएका थिए। त्यसपछि आफूहरुले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै उनीहरु उडेको उनले बताए । हेलिकप्टरमा चालकसहित ५ जना भारतीय मूलका नागरिक रहेको वडाध्यक्ष जोशीले बताएका थिए।

उनीहरूले हिन्दी बोलिरहेका र साथमा नक्सा पनि बोकेका थिए भने उनीहरू करिब आधा घण्टा बसेको स्थानीयले बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.