एकीकृत समाजवादी पनि नेतृत्वकै दौडमा

|

धनगढी : सुदूरपश्चिमबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न असोज २३ मा कांग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे। देउवासँगको आधा घण्टाको छलफलमा उनीहरूले प्रदेश सरकारमा गठबन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकारको मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे।

तीनैजनाको आग्रहपछि देउवाले गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए। ‘यो सबैको साझा कुरा हो। यसमा सबै मिलेर अघि बढ्नु पर्छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ। म प्रस्ताव राख्छु।’

प्रधानमन्त्री तथा पार्टी सभापतिलाई लबिङ गरेको करिब ६ महिनासम्म पनि सुदूरपश्चिममा सरकार परिवर्तन हुन सकेको छैन। मुख्यमन्त्री दाबी गरेको प्रदेशमा कांग्रेसले मन्त्रीसम्म पाएको छैन। सुदूरपश्चिममा सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी रहेको छ।

तर फेरि एकपटक कांग्रेसले सुदूरपश्चिम सरकारमा सहभागी हुन पार्टी नेतृत्व र सरकारमाथि दबाब दिइरहेको नेताहरूले बताएका छन्। कांग्रेसले सरकारमा सहभागी हुने तीव्र इच्छा जाहेर गरेसँगै प्रदेश सरकारको नेतृत्वबारे पनि सत्ता गठबन्धनको फरक/फरक धारणा व्यक्त गरिरहेका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम र नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् भने माओवादी केन्द्रले अहिलेकै नेतृत्वमा कांग्रेस सहभागी हुनुपर्ने अडान जारी राखेको छ। केन्द्रमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको सत्ता गठबन्धन बनेसँगै सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागी हुने तय भएको थियो।

तर नेकपा समाजवादी र नेकपा माओवादीको सरकार बनाउन स्पष्ट बहुमत पुगेसँगै कांग्रेसको सहभागिता बिना नै मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत हासिल गरेका थिए। त्यसयता गठबन्धनमा आबद्ध सबै दलसँग सत्ता साझेदारी हुनुपर्ने माग राख्दै आएको कांग्रेसले सरकारको नेतृत्व परिवर्तन गरेर सरकारमा सहभागी हुने सुनिश्चितता खोजेको हो।

सरकारको नेतृत्व आफैं लिएर या नयाँ नेतृत्व चयन भए सरकारमा सहभागी हुने तयारीका साथ छलफल भइरहेको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए। ‘हामीले सरकारमा नेपाली कांग्रेसको सहभागिता हुनुपर्ने स्वाभाविक कुरा उठाएका छौँ’ उनले भने, ‘अहिलेकै नेतृत्वमा सरकारमा सहभागी हुनेभन्दा पनि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने कुरा गरेका छौँ तर टुङ्गो भने लागेको छैन।’

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरूले भने सरकारमा नेपाली कांग्रेसको सहभागिता हुनुपर्ने बताएका छन्। तर केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलका बीच २/२ प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा समाजवादीको नेतृत्वमा सरकार बन्ने तथा मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार रहेकोले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नहुने पक्षमा माओवादी छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा नेकपा माओवादीले नेतृत्व गर्ने केन्द्रमा नै भएको सहमति भएकोले सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन नहुने दाबी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामीको छ। ‘सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नगरेरै नेपाली कांग्रेसको सरकारमा सहभागिता होस् भन्ने प्रदेश सरकारको चाहना छ’ उनले भने, ‘कांग्रेसको सरकारमा सम्मानजनक सहभागिता गर्न हामी तयार छौँ।’

प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने मान्यता एकीकृत समाजवादीका नेताहरूको पनि रहेको छ। प्रदेशसभामा सबैभन्दा ठूलो दलसमेत रहेको समाजवादीका १४ जना प्रदेशसभा सदस्य रहेका छन्। दोस्रो दल नेकपा माओवादीका १३ सदस्य, नेपाली कांग्रेसका १२, नेकपा एमालेका १० तथा जसपा र लोसपाका १/१ सदस्य छन्।

कांग्रेसको सरकारमा सहभागिता स्वाभाविक रहेको तर आफूहरु नेतृत्वसमेत परिवर्तन हुनुपर्ने पक्षमा रहेको एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश इन्चार्ज मदनकुमारी शाहले बताइन्। ‘सरकारमा नेपाली कांग्रेसको सहभागिताबारे कुरा उठ्नु स्वाभाविक हो’ उनले भनिन्, ‘नेताहरूबीच केन्द्रमा छलफल चलिरहेको छ। तर सुदूरपश्चिम प्रदेशमा नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ।’

नेपाली कांग्रेस र एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्न तयार रहेको बताइए पनि केन्द्रमा भने निर्णय भइसकेको छैन। नेकपा माओवादीले नेपाली कांग्रेस सरकारमा सहभागी भए मन्त्रालय बाँडफाँडमा सम्मानजनक हैसियत प्रदान गरिने जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने नहुने केन्द्रीय नेताहरूको निर्णयमा भर पर्ने देखिएको छ। कांग्रेसका नेताहरु केन्द्रको निर्णयका लागि पर्खिरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.