काठमाडौं : नयाँ जीवनको स्वागत, अस्वस्थ जीवनको आशा र अन्त्यमा जीवन बिसाउने स्टेशन हो अस्पताल। जहाँ हरेक दिन धर्तीमा नयाँ जीवन आगमन र इहलीला समाप्तीको सिलसिला चलिरहन्छ।
धर्तीमा आउने-जाने यही क्रमको मुख्य साक्षीका रूपमा डाक्टर रहन्छन्। उनीहरू बिरामीका खुशी र पीडा बिसाउने एक चौतारी हुन्। तिनै डाक्टरमध्ये एक हुन् सर्जन प्रकाश पौडेल।
उनको दैनिकी बिरामीको स्वास्थ्य उपचारमा बित्छ। सर्जिकल ग्यास्ट्रोलोजिस्ट तथा ल्याप्रोस्कोपिक सर्जनका (पेटसम्बन्धी सम्पूर्ण रोग) रूपमा रहेका पौडेल करिब ११ वर्ष काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बिरामीको उपचारमा खटिँदै आएका छन्। डाक्टरी जीवनमा लागेपछि मात्र आफूले जीवनको महत्वबारे साक्षात्कार हुन पाएको बताउँछन् उनी। हरेक दिन डाक्टरको भरोसामा आउने मान्छेको घुइँचो देख्दा कहिले खुशी त कहिले दुःख लाग्ने गरेको उनले सुनाए।
‘खुशी यसकारण लाग्छ कि उनीहरूले आफ्नो पीडामय जीवनको मल्हमका हामीलाई सम्झिए‚’ एकछिन रोकिएर डा. पौडेलले भने‚ ‘दु:ख यसकारण लाग्छ कि देशमा बिरामीको संख्या बढेको बढ्यै छन्।’
मान्छेले आफ्नो स्वास्थ्यलाई नै ख्याल नगरेको देख्दा बेचैनी बढ्ने उनी सुनाउँछन्। ‘आफ्नो जीवनको ख्याल नगरी कति ब्यस्त हुन सकेका मान्छे!’ उनले आफ्नो मनमा आउने भावलाई अभिव्यक्त गरे‚ ‘रोबर्ट जिन्दगीलाई पर राखेर कहिले काहीं आफ्नो स्वास्थ्यमा ख्याल गरिदिए कम्तीमा रोगको भारी बोकेर अस्पताल आउनु त पर्दैन भन्ने लाग्छ।’
डा. पौडेलले अस्पतालमा कयौं बिरामीको ज्यान बचाएका छन्। कति बिरामीले उनकै अगाडि प्राण पनि त्याग गरेका छन्। ‘आशा मारिसकेको अवस्थामा अस्पताल ल्याइएका बिरामीहरूले नयाँ जीवन लिएर फर्किँदाको दृश्यले आनन्दित तुल्याउँछ‚’ उनले भावनात्मक अभिव्यक्ति दिए‚ ‘कहिले काहीँ बिरामी आफ्नै आँखा अगाडि अस्ताउँछन्। त्यस्तो दृश्यले मन भत्किन्छ, रसाउँछन् आँखा।’
डाक्टरी पेशा बिरामीसँग भावनात्मक सम्बन्ध स्थापित हुने पेशा रहेको उनको अनुभव छ। आफूहरूको विश्वासमा बिरामी आउने भएकाले कम्तीमा आफ्नो मिहिनेतले हुन सक्ने काम गरिरहेको उनले सुनाए। उपचार सफल भएपछि कतिले कृतज्ञता प्रकट गरिरहेका हुन्छन्। तर‚ कतिले घर फर्किँदा धन्यवाद पनि नभन्दा कहिलेकाहीँ चित्त दुख्ने गरेको सुनाउँछन् उनी।
‘सफल उपचारपछि बिरामी पूर्णरुपले स्वस्थ्य बनिसकेको हुँदैनन्‚’ चित्त दुखाइको कारणमध्ये एउटा उदाहरण उनले दिए, ‘तर, घर पुगेपछि सम्पर्क गर्नुहुन्न। नेपालमा यो प्रचलन अलि समस्याग्रस्त लाग्छ।’
अस्पतालका कुरूप दृश्य
आफ्नो पेशाको ११ वर्षमा उनले सयौं सर्जरी गरेका छन्। हजारौं बिरामीको उपचार गरेका छन्। हजारौंले नयाँ जीवन पाएका छन्। तर, कहिले काहीँ अस्पतालको लापरबाहीले बिरामीको मृत्यु, अस्पताल तोडफोडजस्ता घटना सुन्दा नमज्जा लाग्ने डा. पौडेल सुनाउँछन्।
‘कुनै पनि बिरामीलाई मार्न अस्पताल बनेका होइनन्। न त मान्छे मार्न नै डाक्टर बनिएको हो‚’ उनले भने‚ ‘तर, कहिले काहीं बिरामीको मृत्युलाई लिएर डाक्टरमाथि हत्याराको ट्याग लगाइन्छ। डाक्टरमाथिको हातपात र अस्पताल तोडफोडको साह्रै कुरुप दृश्य लाग्ने गर्छ।’
उनले चिकित्सकहरू कहिल्यै पनि बिरामीको जीवनमाथि खेलबाड नगर्ने बताउँछन्। यसलाई पुष्टी गर्न उनले भने‚ ‘एउटा उदाहरण दिउँ‚ तपाईं पत्रकारिता गरिरहनुभएको छ। तपाईंको नाममा छापिने समाचारमा कसरी सत्य‚ तथ्य‚ निष्पक्ष हुन्छ भनेर मिहिनेत गर्नुहुन्छ नि। हाम्रो पेशामा पनि कुनै बिरामीलाई कसरी राम्रो तरिकाले उपचार गर्ने भन्ने हुन्छ।’
तर, कहिले काहीँ हुने प्राविधिक त्रुटिलाई भने डा. पौडेल नकार्दैनन्। यसमा कम्युनिकेशनको अभाव देख्छन् उनी। बिरामी अस्पताल आउने चरणदेखि सफल वा असफल उपचारसमम्म हाम्रो कम्युनिकेशन प्रणाली व्यवस्थित नभएको उनको बुझाइ छ। दोस्रो कुरा हरेक अस्पतालमा सेवा प्रणाली फरक छ। त्यस्तो हुनाले डाक्टर र बिरामीबीचमा एक भावनात्मक सम्बन्ध स्थापित नबन्ने डा. पौडेल बताउँछन्।
‘कुनै बिरामीको सुरुको फेजदेखि अन्तिम फेजमा पुगेपछि एक निष्कर्ष निक्लन्छ। त्यसबेलासम्म एउटा डाक्टरसँग बिरामीको भावनात्मक सम्बन्ध हुन्छ। लापरबाही हुन्छ भन्ने ठाउँ नै रहँदैन,’ उनी सुनाउँछन्, ‘बिरामी आज यहाँ आउँछन् भोलि अर्कोमा जान्छन्। बिरामीको अवस्था नाजुक हुँदै जाँदा अर्को डाक्टरकहाँ पुगिसकेका हुन्छन्। बिरामीको मृत्यु भए काउन्सिलिङ गर्ने अर्को हुन्छन्। यी र यस्ता कारणले सही सूचना न डाक्टर प्राप्त गर्छन् न बिरामीले। यसले बिरामीका आफन्तलाई बिरामीको उपचारमा लापवाही भयो कि भन्ने लाग्छ।’
उपचारका क्रममा बिरामीको मृत्यु हुने कुरा नेपालमा मात्र होइन विश्वभर हुन्छ। तर, हामीले काउन्सिलिङ कसरी गरिरहेका हुन्छौं भन्ने मुख्य कुरा रहेको डा. पौडेल सुनाउँछन्।
‘भवितव्य घटनालाई लापरबाही भन्ने चलन छ। कुनै पनि अस्पताल वा डाक्टरले बिरामीलाई बचाउने कसम खाएको हुन्छ, मार्ने कुरा हामी सोच्दा पनि सोच्दैनौं‚’ उनले भने, ‘कुनै रोगहरू यस्ता हुन्छन्, हामीसँग भएका ज्ञान र प्रविधिले पनि बिरामी बचाउन सकिँदैन। त्यस्तोमा त उहाँहरूलाई सहज मृत्युको वातावरण बनाइदिनुपर्छ। यद्यपि‚ हरेक डाक्टर वा अस्पतालको पहिलो धर्म बिरामीलाई जीवन दिने हो।’
डाक्टर बन्न घच्घचाउने त्यो दृश्य
पर्वतको आर्थरमा उनले बाल्यकाल बिताए। सडक कस्तो हुन्छ? सवारीसाधन कस्ता हुन्छन् भन्ने बुझ्न नै एक दिनको बाटो हिँड्नुपर्ने हुन्थ्यो। त्यसबेला गाउँमा न शिक्षाको महत्त्व थाहा थियो न शिक्षाले निकाल्ने परिणाम नै। यस्तै वातावरणमा उनले कक्षा ५ सम्मको शिक्षा लिए।
डा. पौडेलले गाउँमा बिरामी भएर उपचार नपाएका भाउजु‚ आमा‚ काकाहरू देखेका थिए। जो स्वास्थ्य उपचार नपाएर अकालमा जीवनको आहुति दिइरहेका थिए। गाउँमा स्वास्थ्य र डाक्टरबारे कुराकानी हुँदा उनी सुनिरहन्थे। डाक्टरको कुरा गरिरहँदा डाक्टर भनेको के होला भन्दै गम्थे।
डाक्टरले बचाउन सक्थ्यो त्यसको जीवन भन्ने गाउँलेको अभिव्यक्तिले मनमा डाक्टर हुन पाए भन्ने सोच पलाएको उनले सम्झिए। कहिले काहीँ पोखराको अस्पतालमा आउँदा डाक्टरसँग बिरामीले गरेको विलापले उनलाई पोलिरह्यो। तिनै धुमिल सम्झनाले डाक्टर बन्न अभिप्रेरित गरेको उनी सुनाउँछन्।
कक्षा ५ मा पढ्दै गर्दा उनलाई काकाले काठमाडौं ल्याए। त्यसपछिको पढाइ भने राजधानीमा नै भयो। २०५२ सालमा एसएलसीको नतिजाले उनको डाक्टरी पढ्ने बाटो तय गर्यो।
एसएलसीको नतिजापछि परिवार, शिक्षकले अनी उनको मनले डाक्टरको सपना एकैपटक देख्यो। आएएस्सी अमृत साइन्स क्याम्पस पढे। त्यसपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल एमबिबिएस पढे। डाक्टरी पढ्न लागत उनको परिवारमा थिएन। आर्थिक अवस्था कमजोर भएपनि तँ सक्छस्, मिहिनेत गर भनी भरोसा दिने मान्छे भए सफलता पाउन सकिने उनी सुनाउँछन्।
‘कसैलाई सफल बनाउनु छ भने तपाईंले त्यसलाई आँट भरिदिनुपर्ने हुन्छ‚’ डा. पौडेलले भने‚ ‘जबसम्म तँ सक्छस् भनेर कसैले भनिदिँदैन‚ उसले आफूमा आत्मविश्वास ल्याउन सक्दैन।’
उनले छात्रवृत्तिमामा एमबिबिएस पढेका हुन्। सन् २००५ उनले एमबिबिएस सके। एक वर्षपछि उनले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स पाए। त्यसपछि उनले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २०१० मा जनरल सर्जनको कोर्श पूरा गरे। सर्जिकल ल्याप्रोस्कोपिक कोर्श गरे। डा. पौडेल अहिले एमसिएच अर्थात् पिएचडी गर्दैछन्, जुन विषयमा उनले ११ वर्षदेखि काम गरिरहेका छन्।
बिनामिहिनेत सफलता असम्भव
काम सानो र ठूलो हुँदैन। कुनै पनि पेशा समान हो भन्ने आम भनाइ छ। यसका बाबजुद पनि डाक्टर पेशालाई हेरिने दृष्टिकोण सम्मानित छ। जसले गर्दा हरेक विद्यार्थीले आफूलाई डाक्टर बन्ने सपना देख्छन्।
तर‚ डाक्टर बन्न खर्च अलि बढी नै लाग्ने डा. पौडेल बताउँछन्। यद्यपि‚ नेपालमा डाक्टरी पढ्न छात्रवृत्तिको व्यवस्था पनि रहेको उनी सुझाउँछन्।
‘लगाव र क्षमता हुनैपर्छ र आर्थिक रुपले पनि सवल हुनुपर्छ। मिनिमम आर्थिक सम्पन्नता नभई त कसैगरी पनि डाक्टरी पढ्न सकिँदैन। पूर्ण छात्रवृत्तिमा पढे पनि अन्य खर्च त आवश्यक छ नै। डाक्टरी मात्र होइन अन्य कुनै पढे पनि निश्चित पैसा आवश्यक छ। त्यो रकम त परिवारले जुटाउनै पर्छ। सन्तानले आफूले कमाउन नसक्ने भइन्झेलसम्म परिवारको जिम्मेवारी हो,’ उनले भने, ‘यदि परिवारले आवास र खाना खर्च जुटाइदिए क्षमता र मिहिनेति विद्यार्थीले डाक्टरी पढ्न सक्छन्।’
गीतमा भाषाको मोह र भावना प्रस्तुत
सर्जनका रूपमा क्रियाशील पौडेल एक कुशल सर्जक पनि हुन्। उनले रचना गरेका केही गीत सार्वजनिक भइसकेका छन्। भाषाप्रतिको सम्मोहन त हर कसैलाई हुन्छ नै। आवेग‚ पीडा‚ आफू बाँचेको जिन्दगी र समाजको चरित्रबारे हरेकको आ-आफ्ना दृष्टिकोण हुन्छन्।
फरक यहि हो‚ कति अभिव्यक्त हुन्छन् कति हुँदैनन्। अभिव्यक्त गर्नेको पनि शैली फरक हुन्छन्। उनी साहित्यमार्फत आफ्ना अभिव्यक्त दिइरहेका छन्। अन्तर्मुखी स्वभावका डा. पौडेल गीत‚ गजल र कविता लेख्छन्। यसरी लेखिएका कुरा डायरीमा राख्नु मात्र सुहाउँदो नभएको अनुभव भएपछि अहिले पुस्तकका रूपमा सार्वजनिकको तयारीमा जुटेको उनी बताउँछन्।
विश्वभर कोरोना महामारीले दैनिकीमा परिवर्तन ल्याइदियो। यसले सधैं व्यस्त हुनुपर्ने उनलाई केही फुर्सद दियो। यही मेसोमा आफूले लेखेका गीतहरूलाई पुनः सम्पादन गरेको डा. पौडेलले सुनाए। केही गीत रेकर्डिङ पनि गरेको उनले बताए।
उनले २०२० मा पहिलो गीत ‘यादका लहरहरू’ सार्वजनिक गरे। जसमा अन्जु पन्तको स्वर र राज सागरको संगीत छ। दोस्रो गीत ‘फूलकुमारी’ राजनराज सिवाकोटीको स्वर तथा संगीतमा बजारमा गइसकेको छ। तेस्रो गीत उदितनारायण झाको स्वर र राज सागरको संगीतमा ‘ְस्वतन्त्र मन’ केही समयअघि सार्वजनिक भइसकेको छ। यस्तै‚ सुगम पोखरेल र अस्मिता अधिकारीको स्वरमा ‘नजर’ बोलको गीत सार्वजनिक को तयारीमा रहेको छ। हाल उक्त गीतको भिडियो निर्माणको कार्य भइरहेको डा. पौडेलले सुनाए।
अन्यायमा शब्द
डा. पौडेल संगीतप्रतिको आफ्नो लगाव बाल्यकालदेखि नै रहेको बताउँछन्। अध्ययन गर्दा पनि गीतको सहारा लिने गरेको उनी सुनाउँछन्। संगीतबिना कुनै किताब छिचोल्न सक्दैनन् थिए।
‘स्कुल कालदेखि नै म संगीतको सहारामा पढ्ने गर्थें‚’ गीतप्रतिको लगावबारे उनले सुनाए‚ ‘परीक्षाको बेला म रातभर सुस्तरी म्युजिक राखेर पढ्ने गर्थें।’
आफू बाल्यकालदेखि नै उदितनारायणका स्वरको फ्यान रहेको डा. पौडेल सुनाउँछन्। त्यसैले उदितको नयाँ गीत आउने बितिक्कै उनी क्यासेट दोकान पुग्थे। त्यो बेला न सिडीको जमाना थियो न युट्युबको! उदितको स्वरमा डुबेका उनले बाल्यकालमै नै अठोट लिएका थिए, ‘जीवनमा एकपटक उदितनारायणसँग सहकार्य गर्छु, गर्छु।’
उनको बाल्यकालको त्यो अठोट पूरा भयो। उनले उदितसँग सहकार्य गरेका छन्। ‘जीवनमा जे चाहनुहुन्छ‚ त्यो पूरा हुन्छ‚’ उनले सुझाव दिँदै भने‚ ‘तर, मिहिनेत कति गर्ने भन्ने मुख्य कुरा हो।’
गीत लेखनमा सक्रिय पौडेलले आफूलाई अब्बल स्रोताका रुपमा पनि लिन्छन्। पछिल्लो समयमा गीतमा सिर्जनात्मक पाटोभन्दा व्यावसायिक पाटो महत्त्वपूर्ण मानिन थालेको उनले अनुभव गरेका छन्। ‘सर्जकहरूले गीतको मुटु शब्द हो भन्ने कुरा मनन् नगरे जस्तो पनि महसुस हुन थालेको छ। मान्छेले कुनै गीत पटकपटक सुन्नलाई गीतमा कसरी शब्दको तालमेल मिलाउने हो बुझ्नुपर्छ भन्ने लाग्छ,’ उनले आफ्ना कुरा राखे, ‘समग्रमा अचेल शब्दहरूमा कमजोरी देखिन्छ।’
डा. पौडैल गीत संगीतमा सफल र असफल भन्ने ट्याग लगाउन नहुने बताउँछन्। मान्छेका आफ्ना भावनात्मक अभिव्यक्ति हुन्छन्। ती अभिव्यक्ति केहीलाई मन नपर्न पनि सक्छ। तर, सबैको हकमा त्यस्तो हुँदैन। त्यसैले सिर्जनामा सम्मान आवश्यक रहेको भन्दै उनी कुराकानीको बिट मार्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।