|

हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा राजनीतिक दलका नेताको धपेडी बढेको छ। २०७४ को चुनाव सकेर शहर केन्द्रित भएका नेताहरु पाँच वर्षपछि फेरि गाउँ छिर्न थालेका छन्।

भेला, प्रशिक्षण, चुनाव केन्द्रित सभा, पार्टी प्रवेश कार्यक्रम गर्न उनीहरुलाई भ्याइनभ्याइ छ। यहि मेसोमा नेताहरुले जनप्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक  गरिरहेका छन्। कुनै पनि पार्टीले उम्मेदवारको टुंगो नलगाए पनि नेताहरु व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ।

मकवानपुरमा १० वटा स्थानीय तह छन्। तीमध्ये एउटा उपमहानगरपालिका हो भने बाँकी गाउँपालिका। बागमती प्रदेशको राजधानी पनि भएकाले हेटौंडा उपमहानगरपालिकाको (प्रमुख) मेयरमा धेरैको ध्यान छ। संविधानसभा सदस्यदेखि वडाअध्यक्षसम्म उपमहानगरको मेयर बन्ने दाउमा दौडधुपमा लागिसकेका छन्।

हालसम्म विभिन्न राजनीतिक दलका झण्डै एक दर्जन नेताले  आकांक्षा देखाएका छन्। हेटौंडाको पहिलो शक्तिका रुपमा नेकपा (एमाले) छ। अघिल्लो चुनावको मत परिणामअनुसार कांग्रेस अहिले दोस्रो शक्ति हो।

बागमती प्रदेशकै एकमात्र उपमहानगर हेटौंडामा अब पनि एमाले र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने गत निर्वाचनकै परिणामले देखाउँछ। आगामी निर्वाचनमा एमालेलाई विरासत जोगाउनु छ भने कांग्रेसलाई इतिहास बनाउनु छ।

कांग्रेसले हेटौंडामा हालसम्म निर्वाचन जित्न सकेको छैन। एमालेको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हेटौंडा उपमहानगरपालिका हो। २०४६ मा बहुदल स्थापनापछि ०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले विजयी भएको थियो।

२० वर्षपछि २०७४ मा भएको निर्वाचनमा पनि मेयर र उपमेयर एमालेकै निर्वाचित भए। तर पार्टी विभाजनपछि उपमेयर अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएकी छिन्।

विभाजनपछि पनि विरासत जोगाउने चुनौतीका बीच एमालेका पाँच नेताले मेयरमा आकांक्षा देखाएका छन्।  संविधानसभा सदस्य अनन्त पौडेलदेखि ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलसम्म मेयरको दौडमा देखिएका छन्। 

वर्तमान मेयर हरिबहादुर महतसहित संविधानसभा सदस्य पौडेल, जिल्ला समन्वय समिति (जिसस) प्रमुख रघुनाथ खुलाल, पार्टीका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र ४ नम्बरका वडा अध्यक्ष सिग्देलले मेयर हुने इच्छा देखाएको पार्टी वृत्तमा चर्चा छ।

पौडेल संविधानसभा सदस्यहरु मिलेर गठन गरिएको संस्था संविधानसभा सदस्य परिषद्का संयोजक हुन्। उनले हेटौंडामा विकास निर्माणका ठूला/साना आयोजना, जनताका आवश्यकता, अपेक्षा पूरा गर्ने भन्दै आश्वासन बाँड्न थालिसकेको चर्चा छ। एक एमाले जिल्ला सदस्यका अनुसार पौडेलले पहिल्यैदेखि मेयर हुने तीव्र इच्छा बोकेका छन्।

पहिलो संविधानसभा चुनाव हारेर दोस्रो पटक पनि अवसर पाएका पौडेलले त्यतिबेला माओवादी उम्मेदवारलाई पराजित गरेका थिए।  मेयर महत पनि पुनः चुनाव लड्ने तयारीमा रहेको उनको सचिवालयले जानकारी दिएको छ।

मेयरको दौडमा पौडेल र जिसस प्रमुख खुलाल एमालेभित्र केन्द्रीय अध्यक्ष केपी ओली समूहका पुराना अनुहार हुन्। मेयरका आकांक्षी महत, पौडेल र खुलाल आन्तरिक रुपमा आफूनिकट नेताहरुसँग टिकट हत्याउन लबिङ गरिरहेका छन्।

अघिल्लो निर्वाचनमा गठबन्धनलाई पराजित गरेका कारण पनि एमालेमा मेयरका लागि धेरै आकांक्षी हुने आंकलन छ। तर, ठूला नेताहरुले नै मेयरमा दाबी गर्न थालेपछि भने अन्यलाई बोल्न समस्या भएको बुझिन्छ।

निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको गठबन्धन भए महतलाई नै टिकट दिनुपर्ने आवाज कतिपयले पार्टीभित्र उठाइरहेका छन्।

तर मेयर निर्वाचित भइसकेपछि पार्टीका नेतालाई नगनेको, उनीहरुका कुरा नसुनेको, पार्टीभन्दा छुट्टै ढंगले चलेको भन्दै उनलाई फेरि टिकट दिन नहुने पक्षमा जिल्लाका शीर्ष नेताहरु रहेको एक जिल्ला सदस्यले बताए।

कांग्रेसमा तीन जना आकांक्षी 

एमालेलाई टक्कर दिन नेपाली कांग्रेसबाट तीन जना नेताले मेयरमा उठ्ने आकांक्षा देखाएका छन्। तीमध्ये कांग्रेस मकवानपुरका पूर्वसचिव आनन्दराम पराजुली मेयरका बलिया आकांक्षी हुन्। केही दिनअघि भएको पार्टीको जिल्ला अधिवेशनमा सभापति उठेका पराजुली त्रिपक्षीय भिडन्त हुँदा दोस्रो भए। 

कांग्रेसको विधान अनुसार ५० प्रतिशतभन्दा बढी मत नआएपछि धेरै मत ल्याउने दुई जनाबीच पुन: प्रतिष्पर्धा हुने व्यवस्था छ। तर पराजुलीले पहिलो भएका वुद्ध लामालाई समर्थन गर्दै पुन: चुनावमा गएनन्।

यसमा उनलाई मेयरको टिकट दिलाउने आश्वासनले काम गरेको नेताहरुको चर्चा छ। पराजुली २०७४ को निर्वाचनमा पनि हेटौंडा उपमहानगरको मेयरमा पराजित उम्मेदवार हुन्।

कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले पनि आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन्। पार्टीमा प्रकाशमान सिंह पक्षधर दाहालले आफू मेयरको उम्मेदवार बन्ने सार्वजनिक रुपमा बताउँदै आएका छन्। उनी नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय महामन्त्री हुन्।

नेकपा (माले)बाट प्रवेश गरी कांग्रेसको जिल्ला सचिव जितेका भीमसेन महत पनि मेयरका अर्का आकांक्षी हुन्। मालेमै हुँदा अघिल्लो निर्वाचनमा पनि मेयरको चुनाव लडेका महतले जम्मा ३ सय १५ मत ल्याएका थिए। 

माओवादीमा पनि संविधानसभा सदस्य नै दाबेदार

हेटौंडामा तेस्रो शक्तिको रुपमा रहेको नेकपा (माओवादी केन्द्र)बाट संविधानसभा सदस्य प्रह्लाद लामिछाने मेयरमा आकांक्षी देखिएका छन्। उनी नयाँ शक्ति पार्टीबाट एमाले हुँदै अहिले माओवादी केन्द्रमै फर्किएका हुन्।

नवगठित नेकपा (एकीकृत समाजवादी) बाट हेटौंडा उपमहानगरकी उपमेयर मिनाकुमारी लामा हेटौंडाको पहिलो महिला मेयर बन्ने दौडमा छिन्।  उनले दाबी गरे पनि एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल नै मेयरका आकांक्षी हुन्।

पोखरेलले पनि मेयरमा चुनाव लड्ने निकटस्थसँग बताएका छन्। राप्रपाबाट युवा नेता भृगु कार्की र स्वतन्त्र उम्मेदवारका रुपमा राकेश शर्माले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्। 

अहिलेको आकांक्षी संख्या हेर्दा हेटौंडाको मेयर बन्न ११ जनाको रस्साकस्सी चलिरहेको छ। केन्द्रमा गठबन्धन नभए पनि मकवानपुरमा गठबन्धन गर्ने कांग्रेस, माओवादी र समाजवादीबीच भद्र सहमति भइसकेको चर्चा छ। तर आकांक्षी धेरै हुँदा नेताहरुको व्यवस्थापन गर्न कठिन हुने देखिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.