|
फाइल तस्वीर

इलाम : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला (एन्जिला) तुम्बापो सुब्बाको कथामा आधारित बायोपिक फिल्म निर्माणको घोषणा भएको छ। इलामको सूर्योदय नगरपालिका–११ की अञ्जिलाको वास्तविक कथामा आधारित फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

बायोपिकमा अञ्जिलाको भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन्। केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्म निर्माणमा मुन लभ इन्टरटेनमेन्टले सहकार्य गर्नेछ। अञ्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय फिल्ममा रहनेछ। फिल्मको निर्मातामा प्रेमकुमार श्रेष्ठ, केन्द्र लिम्बु सह-निर्मातामा विनोद अग्रवाल र राजेश अग्रवाल छन्।

फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्। निर्माता श्रेष्ठका अनुसार बायोपिक अञ्जिलाको गृह नगर सूर्योदय नगरपालिका इलाम र काठमाडौंमा गरिनेछ। जेठ दोस्रो साता छायांकन शुरु गरिने बायोपिक आगाामी दशैँ आसपासमा प्रदर्शन गर्ने तयारी रहेको श्रेष्ठले बताए।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा अर्को साता हुने पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड मनोनयनमा समेत रहेकी अञ्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाइकी गोलकिपर हुन्। विसं २०६८ बाट फुटबलमा लागेकी अञ्जिलाले नेपालको यू–१४ टोलीमा रहँदै सिनियर राष्ट्रिय टोलीमा समेत स्थान बनाएकी थिइन्।

२ वर्षको प्रतीक्षापछि सन् २०१६ को साग गेममा श्रीलंकाविरुद्ध गोलपोष्ट सम्हाल्दै राष्ट्रिय टोलीमा डेब्यू गरिन्। त्यसयता उनी नेपालको पहिलो रोजाइकी गोलरक्षकको रुपमा रहेकी छन्।

गत वर्ष भएको राष्ट्रिय महिला लिगमा एपिएफ च्याम्पियन हुँदा टोलीको गोलपोष्ट उनले नै सम्हालेकी थिइन्। लिगका १२ खेलमा उनले मात्र एक गोल खाएकी थिइन्। उनले पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडको कप्तानी गर्दै २ गोलसमेत गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.