|

जनकपुरधाम : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला र पुरुषको कोटा नछुट्याएकाले आवेदनको आधारमा भर्ना गरिनेछ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाका आधारमा पहिलो दिनदेखि नै जिप्रका धनुषामा आवेदन दिनेको भीड लागेका बताए।

भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ। म्यादी भर्नाका १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिक हुनुपर्नेछ।

धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह रहेको र जसका लागि यो जिल्लामा मात्र ३ हजार ४८६ जना म्यादी प्रहरी माग गरिएको हो।

आवेदन दिएकाहरूको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरी २८ गतेदेखि प्रशिक्षण शुरु गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव भएकालाई प्राथमिकतामा राखिनेछ। भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन्। ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.