प्रहरी संगठन भन्छ - सरकारले दीर्घकालीन समाधान खोजोस्

|

काठमाडौं : वि.स २०७२ साल भदौ ७ गते कैलालीको टीकापुर थरूहट आन्दोलनमा प्रदर्शनकारीले आक्रमण गर्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिए। घरेलु हतियार आक्रमणबाट सेती अञ्‍चल प्रहरी प्रमुख एसएसपी न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्टलगायत मारिएका थिए। 

टीकापुर घटना मात्र होइन यस्ता घटना बारम्बार दोहोरिने गरेका छन्। जनताका सेवाका लागि अनवरत खट्ने प्रहरी जनताबाटै मारिएका छन्। फेरि यस्तै घटना घटेको छ मोरङको लेटाङमा।

आइतबार प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत खोटाङकी प्रहरी जवान उर्मिला श्रेष्ठ लेटाङ नगरपालिकामा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच झडपमा मारिएकी हुन्। 

जनतालाई शान्ति सुरक्षा दिन्छु भनेर लागेकी उनी जनताबाटै सदाको लागि बिदा भइन्। प्रहरीका अनुसार झडपमा कसैले २६ वर्षीय श्रेष्ठको घाँटीमा चक्कु हान्यो। घटनास्थलमा रगताम्मे भएकी उनलाई आइतबार राति नै उपचारका लागि कोशी अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

                                                     एमसिसी विरुद्धको आन्दोलनका बेला प्रदर्शनकारीले प्रहरीलाई ढुंगा हानेको दृश्‍य ।

अहिले मृतक परिवार गहिरो सोकमा डुबेका छन्। यतिखेर सामाजिक सञ्जालमा समेत उनको तस्बिर सेयर गर्दै दोषीलाई कारबाही माग भइरहेको छ। यस्ता घटना फेरि दोहोरिन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु जारी गरेको छ। 

प्रहरीलाई ज्यान जोगाउनै मुस्किल 

पछिल्लो समय प्रदर्शनकारी घरेलु हतियार बोकेरै आन्दोलनमा आउने गरेका छन्। जसकारण सुरक्षाकर्मीको ज्यान जोखिममा छ। गत फागुन १५ गते नयाँ बानेश्वरमा अमेरिकी सहयोग परियोजना एमसिसीविरुद्ध आन्दोलन भयो।

प्रदर्शनकारी घरेलु हतियार हँसियासहित विरोधमा उत्रिए। केही प्रदर्शनकारीहरूले ढुंगा, लठ्ठी प्रयोग गरे। उनीहरू प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए। तर,उनीहरूलाई प्रहरीले नियन्त्रणमा लियो।

आन्दोलनमा प्रदर्शनकारीले केही सुरक्षाकर्मीलाई लुगा पसलमै सटर बन्द गरी कुटे पनि। उपत्यकाभित्रको आन्दोलन होस् या उपत्यका बाहिरको आन्दोलनमा प्रदर्शनकारी घरेलु हतियार नै प्रयोग गरी विरोध प्रदर्शन गर्न जाने गरेका छन्। 

आक्रोशित भिडले घटना घटायो : नगर प्रमुख

लेटाङ घटनाको विषयमा नगरपालिकाका प्रमुख शंकर राईले आक्रोशित भिडले विद्यालय परिसरबाट शिक्षकलाई बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रणबाहिर गएको बताए।

                                       एमसिसी विरुद्धको आन्दोलनमा प्रदर्शनकारी घरेलु हतियार हँसियासहित प्रस्तुत हुँदै ।

‘आक्रोशित भिडले विद्यालयमा आगजनी गरी तोडफोड पनि गरे, मोटरसाइकलमा आगो लगाउन थालेपछि प्रहरी आएका थिए,झडप साम्य पार्न खोज्दा यस्तो घटना घट्यो,’उनले भने।

प्रहरी भन्छन् : ‘जनताबाटै पीडित भयौँ’

जनताकै सेवामा खट्दा उल्टै जनताबाट मारिनु जस्तो दुःखद घटना अरू केही नभएको बताउँछन् नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी। विराटनगरमा भएको घटनाको दुःख व्यक्त गर्दै उनी भन्छन्,‘जनतालाई शान्ति सेवा दिन २४ सै घण्टा हामी खट्छौँ,तर,उहाँहरूबाटै हामी सिकार बनिरहेका छौँ, हामी धेरै पीडित भयौँ,अब त झनै ज्यान जोगाउनै मुस्किल पर्‍याे, यस्ता घटनाहरूको समाधानका लागि सरकाले पनि दीर्घकालीन सोच बनाउनुपर्ने आवश्यकता देखिन्छ।’ 

सुरक्षा साधन भए पनि प्रदर्शनकारीले लुकिछिपी प्रहरीलाई आक्रमण गर्दा बच्न नै नसकेको उनी बताउँछन्। गल्ती गर्ने अरू नै भए पनि ज्यान भने प्रहरीको जाने गरेको उनले बताए। ‘आन्दोलनकारीले लुकेर पनि हामीलाई आक्रमण गर्छन्,यस्तो बेला त कसरी बच्‍ने?,’उनले खिन्‍नता प्रकट गरे। 

किन दोहोरिन्छ घटना?

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोष सिंह राठौर कुनै पनि घटनाको कानुनी उपचार समाजले नखोजी सिधै आगजनी र आक्रमण गर्ने मनशाय हुँदा यस्ता घटना दोहोरिएको बताउँछ्न्।

                                            एमसिसी विरुद्धको आन्दोलनमा प्रहरीलाई ताकेर ढुंगा हान्दै प्रदर्शनकारी ।

  ‘प्रदर्शनकारी आक्रोशित बन्छन्,’उनले भने,‘जसले गर्दा प्रहरीकै ज्यान धरापमा पर्छ,पेशा नै यस्तै रह्यो,समाजले हामीलाई बुझिदिएन।’

त्यस्तैगरी, राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले समाजमा चेतनाको कमी भएकाले घटना दोहोरिने गरेको बताए।

‘कतिपय कानुनी कारबाहीमा ढिलाइ र कार्यान्वयनमा नआउनाले पनि जनता आक्रोशित हुने गरेका छन्,’उनले भने। लेटाङ घटनाको विषयमा अहिले अनुगमन भइरहेकोले आयोग केही नबोलेको उनले बताए। ‘अनुगमन भइरहेको छ,सकिएपछि यस्तो घटनाप्रति आयोग बोल्छ,सुरक्षाकर्मी मारिनु दुःखद नै हो,’उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन्।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.