|

हेटौंडा : बागमती प्रदेशमा बर्डफ्लू देखिएका ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरिएको छ। प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेशका विभिन्न जिल्लाका बर्डफ्लू देखिएको ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरेको जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशका ६ वटा जिल्लामा बर्डफ्लू फैलिइसकेको छ। बर्डफ्लू देखिएका स्थानका २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ किलो दाना नष्ट गरिएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लू देखिएको छ।

पाण्डेका अनुसार बर्डफ्लूका कारण हालसम्म करिब ३ करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ। प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा विभिन्न जिल्लामा संक्रमण फैलिइरहेको उनले बताए। पाण्डेले काठमाडौंका १९ हजार ५ सय ६, भक्तपुरका २४ हजार ३ सय १९, चितवनका ९ हजार ६ सय ७०, ललितपुरका २ हजार २ सय ६२, सिन्धुपाल्चोकका २ हजार १ सय ८८ र मकवानपुरका ३ सय १६ वटा पक्षी नष्ट गरिएको जानकारी दिए।

उनका अनुसार तीमध्ये ब्रोइलर कुखुरा ११ हजार ६ सय ५०, लेयर्स ३५ हजार ६ सय ४३, लोकल कुखुरा ५ हजार ३ सय ४०, हाँस ४ हजार ४ सय ८१ र अन्य एक हजार १ सय ४७ वटा पक्षी छन्। सचिव पाण्डेले बर्डफ्लूको समयमा नै नियन्त्रण गर्न मन्त्रालयले प्रदेशमातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीलाई लामो बिदा नबस्न र जिल्ला नछाड्न पत्राचार गरिएको बताए।

संक्रमण फैलिन नदिन पक्षी ओसारपसार नियमनका लागि प्रहरीसँग समन्वय गर्ने, बर्डफ्लू नियन्त्रण गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि छलफल भइरहेको, कृषकलाई बर्डफ्लूको छिटो सूचना दिन टोल–फ्रि नम्बरको व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको, रोग नियन्त्रणका लागि सञ्चारमाध्यमबाट जनचेतना फैलाउनेजस्ता काम मन्त्रालयले गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.