|

सल्यान : सल्यानमा ज्येष्ठ नागरिककै घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कपुरकोट गाउँपालिकाले पालिकाभित्र रहेका ज्येष्ठ नागरिकको घरमै पुगेर भेटघाट तथा स्वास्थ्य परीक्षण गरेको हो। २ सय १९ महिला र १ सय ५९ जना पुरुष गरि ३ सय ७८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको वडा नं १ मा ६४, २ मा २९, ३ मा ३९, ४ मा ५७, ५ मा ७४ र ६ मा १ सय ४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको स्वास्थ्य शाखाका सिअहेब सुवाश हमालले जानकारी दिए। घरमै पुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा ज्येष्ठ नागरिक निकै खुशी भएको उनको भनाइ छ।

घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गर्दा धेरैजसो ज्येष्ठ नागरिकलाई सामान्य रक्तचाप, दम, ग्यास्टिक, हाडजोर्नी दुख्न्नेजस्ता समस्या देखिएको रिम स्वास्थ्य चौकी कपुरकोट-५ का अहेब टिकाराम न्यौपानेले बताए। 

गाउँपालिकाको नीतिअनुसार नै स्वास्थ्यकर्मीहरूलाई ज्येष्ठ नागरिकको घरदैलोमा अटाएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्बन्धित वडा तथा घरदैलोमा पुगेर परीक्षण, निःशुल्क औषधी वितरण गर्ने व्यवस्था गरिएको उनको भनाइ छ। एकजना ज्येष्ठ नागरिक घरमा भेटेर तथा स्वास्थ्य परीक्षण गरेवापत स्वास्थ्यकर्मीलाई गाउँपालिकाले ७५ रूपैयाँ उपलब्ध गराउने गरेको अध्यक्ष सेनले बताए।

वृद्धवृद्धाको उपचारका लागि सम्बन्धित वडामा रहेको स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीलाई परिचालन गरिने गाउँपालिकाले जनाएको छ। हिँडेर स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकले घरमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा निकै खुशी भएको पालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.