|

झापा : प्रदेश १ मा सबैभन्दा बढी क्षयरोगका बिरामी झापामा रहेका छन्। झापामा आर्थिक वर्ष ०७७।०७८ मा क्षयरोगका झन्डै एक हजार बिरामी पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

विश्व क्षयरोग दिवसका सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय झापाले आज कार्यालय परिसरमै आयोजना गरेको अन्तरस‌ंवादमा उक्त आँकडा प्रस्तुत गरिएको हो।

कार्यालयका क्षयरोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले अघिल्लो वर्ष जिल्लामा ९९२ क्षयरोगी पहिचान भएको जानकारी दिए। जिल्लामा मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै १८८ र झापा गाउँपालिकामा सबैभन्दा कम २२ जना नयाँ रोगी भेटिएका छन्। यद्यपि, कार्यालयले २१ सय थपिने अनुमान गरेकोमा ११ सय जति छुटिरहेको उनले बताए।

विश्वमा सबैभन्दा बढी क्षयरोगी भएको भारतसँगको खुला सीमाका कारण झापामा क्षयरोग निवारण चुनौतीपूर्ण रहेको उनले बताए। प्रदेश नम्बर १ मै सबैभन्दा बढी क्षयरोगी झापामा रहेको बताइन्छ।

श्वास प्रश्वासको माध्यमबाट सर्ने क्षयरोग बैलैमा पहिचान भई स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्दा निको हुने भए पनि बिरामीले रोग लुकाउने गर्दा क्षयरोगीको यकिन तथ्याङ्क सङ्कलन र उपचारमा समस्या हुने गरेको कार्यालयको भनाइ छ।

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ’ भन्ने नाराका साथ आज विश्वभरि यो क्षयरोग दिवस मनाइँदै छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्षयरोगबाट बच्न आफूलाई शङ्का लाग्नासाथ खकार जँचाएर क्षयरोग लागेको भए नियमित औषधि सेवन गरे निको हुन्छ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता कार्यालयका परिवार नियोजन अधिकृत शशिकुमार भट्टराईले गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.