|

सुर्खेत : कर्णाली प्रदेशमा मिर्गोला प्रत्यारोपण सेवा सुरू गरिने भएको छ। यससम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो।

सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले हस्ताक्षर गरेका छन्। प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको जानकारी दिए। प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्नेजस्ता सम्झौता पनि भएको जनाइएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पताल सुर्खेतले विशेषज्ञ र ठूला खालका सेवा सुरु गर्ने पहल र योजनाले कर्णालीवासीमा खुसी छाएको छ। कर्णाली सरकारको एकमात्र ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवा विस्तार गर्दै लगेपछि यहाँका नागरिकको आफ्नो स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुने आशा गरेका छन्।

पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अंग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुनेछ। अब उनीहरूले मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पातालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.