|
मेसिन प्रयोग गर्नुपूर्व मानिसले खन्दै गरेको सुरुङ ।

सिन्धुली : राष्ट्रिय गौरवको आयोजना सुनकोशी  मरिन डाइभर्सन आयोजनाको सुरुङ खान्ने टनेल वोर मेसिन (टिवियम) आगामी वैशाख पहिलो सातासम्म आइपुग्ने भएको छ। आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक)ले चीनबाट टिवियम मेसिन पठाइसकेको जनाएको छ।

चीनको साङघाईबाट टिवियम मेसिन बोकेका ट्रकहरु हिँडिसकेको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) का आयोजना प्रमुख मिस्टर लु ले जनाए।

‘चाइनाको साङघाईबाट भारतको कोलकाता हुँदै नेपालको वीरगन्ज नाकाबाट टनेल वोर मेसिन (टीवीएम) आयोजनास्थलमा ल्याउने तयारी भइरहेको छ। अहिलेसम्म बीच माटोमा टिवियम मेसिन आइपुगेको छ। अबको २०-२५ दिनभित्र मेसिन आयोजनास्थल आइपुग्छ’ उनले भने।

टिवियम मेसिन आयोजनास्थलमा आइपुगेपछि त्यसलाई सेट गर्न एक दुई महिना लाग्ने कोभेकका आयोजना प्रमुख मिस्टर लु ले जनाए। उनले टिवियम मेसिन आएपछि सुरुङ खन्नका लागि तयारी तीव्र बनाइएको जनाए।

टिवियम मेसिनले खन्नुभन्दा पहिला करिब ५० मिटर जति मान्छेले सुरुङ खन्नुपर्ने भएकाले अहिले मान्छेले नै सुरुङ खन्न सुरु गरेका छन्। ‘टिवियम मेसिन छिर्ने मुख बनाउनुपर्छ। त्यसका लागि अहिले मान्छेले ५० मिटर सुरुङ खन्छन्’ उनले भने।

करिब ५ महिना अघिदेखि काम सुरु गरेको आयोजनाले अहिले टिवियम मेसिन राख्नका लागि प्लाटफर्म, स्थायी आवास भवन, क्रसर, टर्नेलभित्र हाल्नका लागि चाहिने सिमेन्ट बनाउने सिमेन्ट प्लान्ट लगायतका काम धमाधम निर्माण भइरहेको प्रमुख मिस्टर लु ले जनाए।

चीनबाट सुरुङ खन्ने कटिङ मेसिन मात्रै ल्याइने र बाँकी अन्य मेसिनहरू भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न प्रयोग भएका मेसिनहरू प्रयोग गरिने उनले बताए।

‘भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पनि हामीले नै निर्माण गरेका हौँ। त्यहाँ पनि टिवियम मेसिन नै प्रयोग भएको हो। हामीले त्यहाँ प्रयोग गरेका मेसिन नै यहाँ प्रयोग गर्छौं। सुरुङ कटिङ मेसिन मात्रै नयाँ आउँछ।’

आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षबाट सुरु भई आव २०८२।८३ सम्म सक्ने लक्ष्य रहेको छ। सिन्धुली र रामेछाप भएर बग्ने सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई–२ को कुसुमटारस्थित मरिन खोलामा खसालिनेछ ।

आयोजनाबाट २८.६२ मेगावाट विद्युत् उत्पादन गरिनेछ। उत्पादित विद्युत् राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सब–स्टेशनमा जोडिने आयोजनाले जनाएको छ। बहुद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउनु रहेको छ।

आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् । आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम सकिएको छ। जग्गा अधिग्रहणका क्रममा १७ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन्।

आयोजना निर्माण सुरु गर्न सिन्धुली जिल्लातर्फ प्रभावित क्षेत्रमा २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ। आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

उक्त आयोजनाको निर्माण सुरुसँगै स्थानीय बासिन्दा उत्साहित बनेका छन् । स्थानीयमा अहिले रोजगारी र अन्य अवसरको आशा पलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.