|

धनगढी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गते (आज)सम्म दरखास्त दिने समय तोकेको थियो।

सुदूरपश्चिमको प्रदेश राजधानी रहेको कैलालीमा २ हजार ४५७ जना म्यादी प्रहरीको कोटा छ तर जिल्ला प्रहरी कार्यालय कैलालीमा ११ हजारभन्दा बढीले आवेदन दिए। ११ हजार २२२ जनाले म्यादीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

म्यादी प्रहरीका लागि देखिएको यो भीडले नेपालको बेरोजगारीलाई चित्रण गरेको छ।

नेपालको संविधान २०७२ को धारा ३३ मा मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भन्ने व्यवस्था छ। पाँच वर्षअगाडि २०७४ मा तीनै तहको निर्वाचन हुँदा सबै राजनीतिक दलले बेरोजगारी समस्या हल गर्ने नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय तहको पाँचवर्षे कार्यकाल सक्किनै लाग्दा र प्रदेश र संघीय सरकारको एक वर्ष मात्रै बाँकी रहे पनि बेरोजगारी समस्या भने जस्ताको त्यस्तै छ।

म्यादी प्रहरी हुन चाहने बेरोजगार नागरिकको भीडले राजनीतिक दलहरूलाई गिज्याएको सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक शिवराज जोशीले बताए। ‘४० दिने जागिरका लागि बेरोजगारहरूको लर्को लागेको देखियो। यो राजनीतिक दलका लागि गिज्याउने विषय हो’, उनले भने, ‘पर्यटन, उद्योग तथा व्यापार बढाउने नीति र कार्यक्रम सरकारले ल्याएर रोजगारी बढाउन सक्नुपर्छ।’

म्यादी प्रहरी भएर ४० दिनको रोजगारीका लागि आवेदन भर्नेको भीड सुदूरपश्चिमका सबै जिल्लामा देखिएको थियो। रोजगारीका अवसर वृद्धि गर्न सरकारले लगानीमैत्री नीति ल्याउनुपर्ने व्यवसायीले बताएका छन्। ऊर्जाशील जनशक्ति र प्राकृतिक स्रोत साधनको परिचालन तथा उपयोग गर्न नसकिँदा बेरोजगारी बढेको कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले बताए।

‘ऊर्जाशील जनशक्ति र स्रोत परिचालन गर्न नसक्दा बेरोजगारी समस्या हल हुन सकेको छैन’, उनले भने, ‘निजी क्षेत्रलाई लगानी पर्यटन, उद्योग तथा व्यापारमा सरकारले सहज हुने वातावरण निर्माण नगरिँदा रोजगारीको अवसर बढ्न सकेन।’

सन् २०१८ को एक अध्ययनले नेपालमा पूर्ण बेरोजगारको दर ११.६ प्रतिशत रहेको थियो। अर्ध बेरोजगारको संख्या निकै धेरै रहेको अर्थशास्त्रीहरूको मत छ। सुदूरपश्चिम प्रदेशमा बेरोजगारी समस्याकै रूपमा रहेकाले रोजगारीका लागि विदेश जानेको संख्या पनि उच्च छ।

कुनै पनि देशमा सरकारले मात्रै सबै नागरिकलाई रोजगारी दिन नसक्ने र रोजगारीका अवसर बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने अर्थविद् गोकर्ण अवस्थीको भनाइ छ। ‘सरकारले मात्रै सबैलाई रोजगारी दिन सक्दैन’, उनले भने, ‘निजी क्षेत्रको लगानी आकर्षित गर्न सके धेरै हदसम्म बेरोजगारी समस्या समाधान हुनसक्छ।’

बेरोजगारी समस्या हटाउन तीनै तहको सरकारले काम गर्न नसक्दा म्यादी प्रहरीमा भर्ना हुनेको भीड थामिनसक्नु देखिएको बताइएको छ। पाँच वर्षअगाडि २०७४ मा भएको निर्वाचनमा राजनीतिक दलले बेरोजगारी समस्या हटाउन विभिन्न नीति र कार्यक्रम ल्याउने चुनावी घोषणामा उल्लेख गरेका थिए।

निर्वाचनपछि बनेका सबै सरकारले बेरोजगारी हटाउने भाषण गर्न नछोडे पनि शहरदेखि गाउँसम्म बेरोजगारी समस्या ह्वात्तै बढेको म्यादी प्रहरी भर्ना हुन आएको भीडले प्रष्ट देखाएको छ।

सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा लगानी बढाउन सके रोजगारीको अवसर सिर्जना हुन सक्ने औंल्याइएको छ। त्यसैगरी उद्योग स्थापना तथा जलविद्युत्‌मा लगानी बढाउन सके रोजगारीका अवसर बढ्नेछ। सरकारले निजी क्षेत्रलाई लगानी गर्ने अवसर निर्माण गर्न नसक्दा बेरोजगारी बढेको बताइएको छ।

‘आवश्यकता पूरा गर्न म्यादीमा भर्ना’

म्यादीमा आवेदन दिएकाहरूले आफ्नो आवश्यकता पूर्तिका लागि भर्ना भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय मीनबहादुर तामाङले म्यादी प्रहरीको फारम बुझाएको बताउँदै छोटो समयमा खर्च जुटाउन म्यादीमा आवेदन दिएको बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रांगणमा चर्को घामको प्रवाह नगरी उनले लाइनमा उभिएर आवेदन दिएको समेत सुनाए। ‘काम केही छैन। किसान हुँ। अहिले खाली भएकाले फारम भर्न आएको हुँ’, उनले भने। 

सेवा सुविधा

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको थियो। फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन पाउने भनिएको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षानिकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताइएको छ।

म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरिदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन्। उनीहरूको बीमालगायतका अन्य सुविधा पनि हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.