|

चितवन : देशकै नजर पर्ने चितवनको राजनीतिमा अहिले कांग्रेसले नयाँ नेतृत्व पाएसँगै चुनावी गतिविधिलाई तीव्र पारेको छ। कार्यकर्ता तथा प्रतिनिधिहरूलाई अभिमुखीकरण, प्रशिक्षण दिँदै कांग्रेस आगामी निर्वाचनको अभियानलाई तीव्र पारेको हो।

गत निर्वाचनमा एउटा पालिका प्रमुख र ३५ वडामा विजयी हात पारेको कांग्रेस चितवनले आगामी स्थानीय निर्वाचनमा वर्चस्व कायम गर्ने गरी निर्वाचनमा होमिएको छ। कांग्रेसले ९८ वडामा प्रतिनिधि खटाएर चुनावमा होमिएको हो।

निर्वाचन लक्षित गरेर कांग्रेसले विभिन्न गतिविधि गर्दै आएको भए पनि आक्रामक रुपमा भने बल्ल चुनावी अभियानमा लागेको छ। जिल्ला सभापति राजेश्वर खनाल जिल्लाको स्थानीय तहमा वर्चश्व कायम हुने गरी अभियान थालेको बताउँछन्।

उनका अनुसार वडामा खटिएका प्रतिनिधिहरुलाई बिहीबार अभिमुखीकरण प्रशिक्षण गरिएको छ। खनालको भनाईमा ती प्रतिनिधिहरु चैत १२ गते बिहानबाट आआफ्नो वडामा खटिएका छन्। घरघर जाऔं, कांग्रेस जिताऔं अभियानअन्तर्गत वडा कमिटी, टोल कमिटी, स्थानीय कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गरिने खनालले जानकारी दिए।

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीविहरूलाई वडामा खटाइएको छ।

उनीहरुले घरदैलोसँगै वडामा पार्टी र अन्य पार्टीको अवस्थाबारे जितका लागि चाल्नुपर्ने गतिविधि, कदम लगायतका विषयमा पनि अध्ययन गर्ने सभापति खनालको भनाइ छ।

आजदेखि एकै साथ जिल्लाका ९८ वडामा अभियान सुरु भइसकेको खनालले जानकारी दिए।

पार्टीले फागुन २९ गतेबाट जिल्लामा निर्वाचन अभियान शुरु गरेको थियो। चैत १ गते संघीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिसकेको छ। जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या २८ हजार रहेको छ।

सात पालिकाको ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो। इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.