|

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किए। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका विदेशमन्त्री वाङले करिब ४८ घण्टा नेपालमै बिताए।

शिवपुरीमा हाइकिङ गरेर भ्रमण सुरु गरेका उनले सोही दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भेटवार्ता गरे। शनिबार परराष्ट्रमन्त्रीस्तरीय बैठकका क्रममा ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो। लगत्तै प्रधानमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गरियो।

भ्रमणको अन्तिम दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाचार भेट गरे।

यसै भ्रमणको विषयलाई लिएर थाहाखबरका जगत भण्डारीले पूर्व-परराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ रमेशनाथ पाण्डेसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश : 

चीनका परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको सम्भावना के छ?

चीनले नेपाललाई जे भन्छ, त्यही गर्छ भन्ने जनविश्वास थियो। अहिले त्यो विश्वास कम हुँदै गएको छ। नेपाल र चीनबीच भएका पछिल्ला सम्झौता कार्यान्वयन हुन पनि ढिलाइ भइरहेको छ

भन्ने संकेत तपाईंको प्रश्नले गरेको छ। यो गम्भीर कुरा पनि हो। यसका लागि दुवै देशले अविलम्ब कार्यान्वयनका लागि काम गर्न सक्नुपर्छ। अन्यथा आम जनतामा विपरीत धारणा बन्न जान्छ।

यसपटक भएका सम्झौताका लागि परराष्ट्रमन्त्री आउनुपर्ने नै थिएन। कर्मचारीस्तरमा हस्ताक्षर गरिएको यो सम्झौता दुई देशले चाहेको भए यसअघि नै हुन सक्थ्यो। परराष्ट्रमन्त्री आएको अवसर मात्रै छोपिएको जस्तो देखिन्छ। यो सम्झौतालाई उहाँको भ्रमणसँग जोडेर हेर्नुपर्ने कुनै जरुरी छैन। 

यो पटकको भ्रमण साबिकभन्दा फरक देखिन्छ, यसको कूटनीतिक अर्थ के छ

यो पटकको भ्रमण साबिकको जस्तो होइन। उहाँ पाकिस्तानमा इस्लामिक देशका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जानुभयो। त्यहाँबाट अफगानीस्तानमा अचानक पुग्नुभयो जुन घोषणा गरिएको थिएन।

त्यसैगरी, भारतमा पनि अचानक नै पुग्नुभयो। जुन भारत सरकारले समेत औपचारिक रूपमा जानकारी गराएको छैन। त्यसपछि उहाँ नेपाल आउनुले पनि यो विशेष स्वभावको भएको देखिन्छ। जुन कूटनीतिक हिसाबले नौलो प्रयोग मान्न सकिन्छ। 

दोस्रो कुरा उहाँको भारत भ्रमणले यी दुई मुलुकको सम्बन्ध केही सुदृढ, सामान्य बन्दै समझदारी बन्न थालेको हो कि भन्ने अनुमानलाई गलत सावित गरिदिएको छ।

दुई देशबीचको दूरी बढेको रहेछ भन्ने यो भ्रमणले पुष्टि गरेको छ। नेपालले यो कुरामा हेक्का गर्नुपर्छ। यी दुई देशको सम्बन्धमा दूरी बढेको रहेछ। यो भ्रमणले झन् दूरी बढेको स्पष्ट हुन्छ।

हामीले कसरी सम्बोधन गर्ने भन्ने सोच्न हुनुपर्थ्यो। तर, भ्रमणमा हामीले साबिक जस्तै भूमिका खेल्यौँ। जबकि अवस्था साबिकको जस्तो छैन।  

यो भ्रमणबाट चीनले दिन खोजेको सन्देश के हो?

हामीले औपचारिकता निर्वाह गर्नेबाहेक केही गरेनौँ। मेरो विचारमा विश्वपरिस्थिति अहिले जुन ढंगले अस्थिर हुँदै गएको छ। संक्रमणकालमा गएको छ। युक्रेनमा भएको युद्धले संसारलाई प्रभाव पारेको छ। त्यसको छिटा नेपालमा पनि देखिन थालिसकेका छन्। 

भारत र चीनबीचको सम्बन्धमा जुन अवस्था देखापरेको छ यी सबैलाई विचार गरेर नेपाल सरकारले चीनका परराष्ट्रमन्त्रीलाई बताउनुपर्थ्यो। त्यति मात्र होइन, भारत र चीन दुवै देशसँग नेपाल समदूरीको सम्बन्ध होइन समनिकटताको सम्बन्ध चाहन्छ भन्ने स्पष्ट पार्नुपर्ने थियो।

त्यसका लागि नेपाल सरकारले कस्तो भूमिका निर्वाह गर्‍यो त्यसको परिणाम निकट भविष्यमा देखिने नै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.