|

पर्वत  :  अन्नपूर्ण हिमालको काखबाट बग्ने सुरु भएर कास्की जिल्ला हुँदै पर्वतमा आइपुग्ने मोदी खोलाको पर्यायवाची नाम ‘बिजुली खोला’ भन्दा पनि फरक पर्दैन। ‘मोदी’ लाई ‘मोदी’ कै रूपमा धेरैले चिन्ने गरेको भए पनि पर्वत वासी नागरिक र विद्युत् उत्पादनको क्षेत्रमा काम गर्ने कम्पनीहरूले ‘बिजुली खोला’, ‘ऊर्जा खोला’ का नामले पनि मोदी खोलाको नामले चिन्ने गर्छन्।

अन्नपूर्ण हिमालदेखि पर्वतको कुश्मा नगरपालिका–५ मोदीबेणीधाममा पुगेर कालीगण्डकी नदीमा मिसिने मोदी खोलाले त्यो बिचमा झन्डै ५० किलोमिटरको यात्रा तय गरेको छ। केन्द्रीय प्रसारणमा लाइनमा जोडिएका कारण मोदीबाट निस्केको बिजुलीले देशलाई नै उज्यालो बनाउन पनि भूमिका खेलेको छ।

यस्तो छ विद्युतीय क्षमता

अनुमति प्राप्त गरेका, निर्माणको प्रक्रियामा रहेका र सञ्चालनमा रहेका गरी मोदी खोलामा आठ ओटा विद्युत् आयोजनाहरू रहेका छन्। आठ ओटै परियोजनाहरू सञ्चालनमा आउँदी ती आयोजनाबाट झण्डै दुई सय १५ मेगावाट विद्युत शक्ति उत्पादन हुन्छ।

अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजना, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको तल्लो मोदी एक जलविद्युत आयोजना र मनाङ ट्रडिङद्वारा निर्माण गरिएको तल्लो मोदी जलविद्युत आयोजना गरी तीन ओटा आयोजनाबाट विद्युत् उत्पादन चलिरहेको छ। जसमा मोदी खोला जलविद्युत आयोजनाको १४ मेगावाट, तल्लो मोदी एकको १० मेगावाट र तल्लो मोदीको १० मेगावाट क्षमता गरी कुल ३४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।

चौधरीको ग्रुपको लगानीमा २०७२ सालदेखि १४.५ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। कोभिड–१९ संक्रमणले पारेको प्रभावका कारण गत वर्षबाट नै विद्युत् उत्पादन गर्नुपर्ने यो आयोजना अझै पनि निर्माणकै अवस्थामा रहेको छ। यस्तै नेपाल विद्युत् प्राधिकरणले ४२ मेगावाट क्षमताको अप्पर मोदी ए जलविद्युत आयोजनाको निर्माणको काम सुरु गरेको छ। कास्कीको घान्द्रुक देखि बिरेठाँटीसम्मको क्षेत्रलाई लिएर यो आयोजना निर्माण हुन लागेको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई छुने यो आयोजनाको निर्माण कार्य करिब एक वर्षपछि सुरु हुने छ भने अहिले संरचना निर्माण गर्ने ठाउँमा रहेका रुखहरू हटाउने काम चलिरहेको छ।

कास्की जिल्लामा पर्ने मोदी खोलाकै भागमा ८६.५९ मेगावाटको लान्द्रुक मोदी खोला हाइड्रोइलेक्ट्रीक पावर प्लान्ट र १०.५ मेगावाटको लोअर मोदी–२ हाइड्रोपावर प्रोजेक्ट पनि निर्माणको क्रममा रहेका छन्।​

हिउँदमा सुक्दा घट्छ विद्युत् उत्पादन

अन्नपूर्ण हिमालमा पग्लिएको हिउँबाट सुरु हुने मोदीलाई भुरुङदी खोला, रती खोला, मल्याङ्दी खोला, घान्द्रुक खोला र अम्बोटे खोलाको पानीले जीवित राखेका छन्। सहायक नदीहरूमा बर्खाको बेलामा मात्तिने भए पनि हिउँदमा पानी देख्न पनि मुस्किल हुने गरेको छ।

बर्खाका महिनामा हुने प्रशस्त वर्षाका कारण जलविद्युत आयोजनाहरूले आफ्नो पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सके पनि हिउँदमा खोला निकै कम पानी हुन्छ। जसका कारण टर्बाइन घुमाउने क्षमता पानीको फोहरामा नहुँदा विद्युत् उत्पादन घट्ने गरेको छ। तल्लो मोदी–१ जलविद्युत आयोजनाका प्रमुख उपेन्द्रराज गौतमले विद्युत् उत्पादनको हिसाबले वर्षा र सुख्खा याम गरी दुई भागमा बाँडिएको बताउँदै मोदी खोलामा हिउँदको बेलामा पूर्ण क्षमताको झन्डै आधा जति उत्पादन घट्ने गरेको बताए।

‘वैशाखदेखि कात्तिकसम्मको समयलाई बर्खा र मङ्सिरदेखि चैतसम्मको समयलाई हिउँदको रूपमा लिइन्छ। बर्खा याममा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने भए पनि हिउँदको समयमा खोलामा पानीको बहाव कम हुने भएका कारण उत्पादन घट्छ’, गौतम भन्छन्, ‘मोदी खोला अन्नपूर्णमा ग्लासियर पग्लेर आउने खोला हो। पुस माघसम्म चिसो नै हुने भएका कारण खोलामा पानी कायमै रहन्छ। फागुन र चैत सुरुवातमा चिसो पनि नहुने, गर्मी पनि नहुने भएका कारण न खोलामा पानी आउँछ, न त ग्लासियर पग्लिन्छ।’

चैतमा गर्मी बढेसँगै क्रमिक रूपमा विद्युत् उत्पादन बढ्दै जाने गरेको छ। सुख्खा याममा १४ मेगावाटको मोदी खोला जलविद्युतले पाँचदेखि सात मेगावाट, १० मेगावाटको तल्लो मोदी–१ ले चारदेखि पाँच मेगावाट र २० मेगावाटको मध्य मोदीले आठदेखि १० मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेका छन्।

सिँचाई र असला माछाका लागि पनि लोकप्रिय छ मोदी

हिमनदी भएका कारण मोदी खोलाको पानीलाई सिँचाइको लागि उत्तम मानिन्छ। माइनस तापक्रममा रहेको हिउँ पग्लेर खोलामा आउने भएकाले अन्य पानीजस्तो मोदीको पानी प्रदूषित नहुने अवस्था छ। एक त किटाणु बाँच्न नसक्ने माइनस तापक्रम अर्को, छोटो नदी भएका कारण बिचमा धेरै प्रदूषित बन्नु नपर्ने भएका कारण मोदीको पानी सिँचाईको लागि उत्तम मानिने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाको भनाई छ।

‘नदीको लम्बाइ जति लामो भयो प्रदूषित हुने सम्भावना पनि उति नै बढ्दै गइरहेको हुन्छ। अन्नपूर्ण हिमालबाट मोदी वेणीसम्म करिब ५० किलोमिटरमा बग्ने मोदी लामो नदी होइन, यही कारण प्रदूषणको सम्भावना कम हुन्छ’, उनले भनिन्, ‘त्यो मात्रै नभएर दूरी छोटो भएका कारण अन्य अन्य नदीको भन्दा मोदीको पानी बढी चिसो हुन्छ। जसले बिरुवाको लागि राम्रो गर्छ।’ मोदीको पानीले किनारमा रहेको बन जङ्गल र खेतीयोग्य जमिनमा सिँचाईको सुविधा मिलेको उनको भनाई छ।

साबिकको धौलागिरि क्षेत्रमै मोदीको माछा लोकप्रिय छ। मोदीको माछा खानको लागि सबैभन्दा लोकप्रिय ठाउँ पर्वतको अम्बोट हो। मध्य पहाडी लोक मार्ग अन्तर्गत पोखरा बागलुङ सडक खण्डमा पर्ने अम्बोटको पहिचान नै मोदीको असला जातको माछा हो। मध्य पहाडीमा हिँड्ने यात्रुदेखि पर्वत सदरमुकाम कुश्मा बजारदेखिका असलाप्रेमीहरु अम्बोट पुग्ने गरेका छन्। ‘घुम्नका लागि टाढाबाट आउनुभएकाहरुले पनि यही हो माछा पाइने अम्बोट यही हो भनी सोध्दै आउनुहुन्छ। यहाँको असला र स्नो ट्राउट माछा धेरैलाई मन पर्छ। गण्डकीको भन्दा मोदीको पानी चिसो हुनाले माछा पनि मिठो हुन्छ’, अम्बोटमा होटेल सञ्चालन गर्दै आएका नवराज क्षेत्री भन्छन्, ‘कुश्मा, बागलुङ, पातिचौर, डिमुवा लगायतका ठाउँबाट पनि अम्बोटमा रमाउने भन्दै आउने गर्नुहुन्छ। माछा निकाल्न सके व्यापार राम्रो छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.