|

खोटाङ : खोटाङको एउटा विद्यालयमा पानीका कारण ३ जना विद्यार्थी बिरामी परेका छन्। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थी सोही स्कुलमा पानी पिएपछि बिरामी परेका हुन्।

विद्यालय नजिकैको धाराबाट जारमा ल्याएर राखिएको पानी पिएपछि ती विद्यार्थी बिरामी परेका डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए। जारमा राखिएको पानी अन्य विद्यार्थीले पिउँदा केही नभएको तर सबैभन्दा पछि जारको पानी रित्तिन लागेपछि पानी पिउने ३ जना विद्यार्थी बिरामी परेका हुन्।

पानी पिउँदै गर्दा बिषादीजस्तो गन्ध आएको विद्यार्थीले बताएका थिए। विद्यार्थी बिरामी परेपछि हेर्दा पानीमा मेटासिड जस्तो सेतो तरल पदार्थ भेटिएको खड्काको भनाइ छ। जारमा राखेको पानीमा कसैले बिषादी मिसाइदिएको हुन सक्ने आशंका गरिएको छ।

विद्यार्थी बिरामी परेपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईसहित च्यास्मीटार प्रहरी चौकीको प्रहरी टोली विद्यालय पुगेको छ। प्रहरीले घटनाको छानबिन गरिरहेको छ।

बिरामी परेका दुईजना विद्यार्थीको घुर्मी अस्पताल र एक जनाको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष खड्काले जानकारी दिए। विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.