|

बैतडी : गत असोज  ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको बेमौसमी वर्षाका कारण भएको क्षतिको राहत रकम लिन किसानले बेवास्ता गरेका छन्।

बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको रकम बुझ्न जिल्ला प्रशासनमा कोहि पनि किसानले चासो देखाएका छैनन्। 

संघीय सरकारले धानबालीमा पुगेको क्षतिपछि राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई दिने भनेको थियो। सरकारले राहत वितरण गर्न भनेपनि हालसम्म किसानहरूले निवेदन नदिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीमा ८ लाख रुपैंया राहतस्वरुप आएको छ। उनले भने,'राहत रकमका लागि निवेदन दिन भनेका छौं। हालसम्म एकजना किसानबाहेक अरु आएका छैनन्, राहत रकम लैजान भनेर हामीले सूचनासमेत जारी गरिसकेका छौं।'

बेमौसमी वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरेर १७६ किसानको धानबालीमा क्षति गरेको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

यसैबीच धानबालीमा क्षति पुगेका किसानहरुलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।  संघीय सरकारले धानबालीमा क्षति पुगेका किसानहरुलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो। 

‘धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’अनुसार पीडित किसानहरुलाई राहत उपलब्ध गराइने भएकोले निवेदन दिन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए।  

राहतका लागि निवेदन दिनेहरुले १० रुपैयाँको टिकट टाँसेको निवेदनका साथै वडा मुचुल्का र वडा सिफारिश राख्नुपर्नेछ। यस्तै प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञान केन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने  जनाइएको छ। 

बेमौसमी वर्षाका कारण ४ जनाको मृत्यु समेत भएको थियो।  मृतकका परिवारलाई संघीय सरकारले यसअघि नै २ लाखका दरले राहत रकम दिइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.