बालमैत्री वडा घोषणा

|

इलाम : इलामको सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सार्वजनिक गरेको छ। नगरले ‘हाम्रो सूर्योदय’ नाम दिएर बनाएको पाठ्यपुस्तक आज लोकार्पण गरेको हो।

पाठ्यपुस्तकलाई नगरपालिकाका सबै वडाका कक्षा १ देखि कक्षा ५ सम्मका सामुदायिक र निजी विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागू गरिनेछ। पाठ्यपुस्तक संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा, नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई र २ जना विद्यार्थीले लोकार्पण गरेका हुन्।

नगरले गत वर्ष कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम सार्वजनिक गरेको थियो। सोही आधारमा तयार गरिएको कक्षा ५ सम्मको पुस्तक सार्वजनिक गरिएको हो। कक्षा ६ देखि ८ सम्मको पुस्तक लेखन अघि बढाइएको छ।

करिब ३ वर्ष लगाएर विज्ञ समूले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी तयार गरेको पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो। पुस्तकमा सूर्योदय नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थल, विविध जातजाति, स्थानीय चाडपर्व, स्थानीय भाषा, स्थानीय खानेकुरा, स्थानीय पर्यटन, स्रोत तथा साधनलगायत विषयवस्तु समेटिएका छन्।

पुस्तकमा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउनेसम्मका विषयसमेत समेटिएका छन्।

आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधानअनुसार नगरपालिकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार पारेको हो। पाठ्यक्रम बनाउन सघाउने विज्ञ र पाठ्यपुस्तक लेखनमा सहभागी शिक्षकहरूलाई सम्मान गरिएको छ।

आजै नगरका ९ र १० नम्बर वडालाई बालमैत्री, स्थानीय शासनयुक्त तथा बालश्रममुक्त समेत घोषणा गरिएको छ। नगरले बालमैत्री स्थानीय तह बनाउन पहिलो चरणमा २ वटा वडालाई बालमैत्री घोषणा गरेको हो।

सूर्योदयले यसै वर्ष ५१ वटा सूचक तयार पारेर बालमैत्री नगर बनाउन थालेको थियो। चाँडै नै १४ वटै वडा बालमैत्री बनाउन काम भइरहेको नगरपालिकाले जानकारी दिएको छ। बालमैत्री बनाउन भूमिका निर्वाह गर्ने बाल क्लबका प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतलाई पनि सम्मान गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.